काठमाडौं - उपत्यकामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह’ शुक्रबारदेखि सुरु भएको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र त्यसअन्तर्गत रहेका विभिन्न सामुदायिक सेवा केन्द्रको आयोजनामा शुक्रबारदेखि सप्ताहव्यापी ट्राफिक सचेतना अभियान सुरु भएको हो। कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाको बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको अभियान राम्रो रहेको बताए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने बताए।
चालू आर्थिक वर्षमा महाराजगञ्ज वृत्तअन्तर्गत ७ सय ९२ दुर्घटना हुँदा २६ जनाको मृत्यु हुनुका साथै ५६० घाइते भएकाले उक्त अभियान सञ्चालन गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए।
अभियानमा वृत्तअन्तर्गतका १० कलेज, दुई विद्यालय, २१ क्लब र विभिन्न अस्पतालको सहभागिता रहेको छ। उक्त अभियानअन्तर्गत ११ चोकमा प्रत्येक दिन सवारी जाँच, सडक अतिक्रमण हटाउने, फुटपाथ व्यवस्थापन गर्ने, चालक, सहचालक र यात्रुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४