काठमाडौं - सरकारले आन्दोलनरत चिकित्सकलाई काममा नफर्के बल प्रयोग गर्ने बताइरहँदा डाक्टरहरूको छाता संगठन नेपाल चिकित्सक संघले आन्दोलनरत डाक्टरको माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ।
संघका महासचिव डा. लोचन कार्कीले सो अवधिभित्र माग सम्बोधनको पहल नभए देशभरका सबै सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिएका छन्।
समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले एक सातादेखि सरकारी अस्पताल ठप्प पारेका छन्।
यता सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने बिहीबार डाक्टहरुका माग जायज नभएको र समायोजनमा जानै पर्ने बताएका छन्। उनले चिकित्सकलाई सेतो कोट लगाएर घमण्ड नगर्नसमेत चेतावनी दिएका थिए। जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै उनले नाजायज माग राखेर चिकित्सा क्षेत्र जस्तो संवेदनशिल क्षेत्रमा हड्ताल जारी राखे सरकार कठोर बन्ने चेतावनीसमेत दिए।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चिकित्सकका माग संविधान र संघीयता विरोधि भएको आरोप लगाएका छन्।
यसैबीच, पदस्थापन भएका कर्मचारीलाई तोकिएको स्थानमा गएर काम गर्न निर्देशन दिँदै गृह मन्त्रालयले काम गर्न नजाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्णय भई समायोजनापछि मन्त्रालयअन्तर्गत पदस्थापन भएका कर्मचारीलाई कामकाजमा खटाइसकेको भए पनि कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर हुन नगएको भन्दै मन्त्रालयले यस्ता कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४