वीरगंज- यहाँको लिंकरोडस्थित सहकारी संचालक दम्पति फरार भएपछि १४ सय बचतकर्ताको बिचल्ली भएको छ।
घण्टाघर लिंकरोडस्थित प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेश पटेल र उनकी श्रीमती कोषाध्यक्ष रिता पोखरेल सहित १४ जना संचालकहरु आइतबारदेखि सम्पर्क बिहीन भएका छन् ।
बचतकर्ताले सहकारी संचालकलाई पक्राउ गर्न उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालय, पर्साले बिहीबार सहकारी कार्यालयमा तालाबन्दी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले फरार संचालकलाई खोजी गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए ।
सहकारीका अध्यक्ष राजेश पटेलसहित १४ जना सञ्चालक फरार रहेका बचतकर्ताले गुनासो गरे । सहकारीमा पटेल अध्यक्ष र उनकी श्रीमती रिता पोखरेल कोषाध्यक्ष रहेका छन् । एकै परिवारका सदस्यहरु सहकारीको संचालक हुन नपाउने भएपनि अध्यक्ष पटेलले उनकी श्रीमति रिता कोषाध्यक्ष पदमा रहेकी छिन् ।
वरिष्ठ उपाध्यक्ष भारती गुरुङ, उपाध्यक्ष रामलक्ष्मन तिवारी, महासचिव रुपेश कुमार गुप्ता, सचिव शिक्षा थापा र सदस्य सुमित कुमार शर्मा पनि फरार छन् । सहकारीको लागी सर्वसाधारणसँग बचत रकम संकलन गर्ने कर्मचारी समेत असुरक्षाका कारण सम्पर्क बिहीन भएका छन् ।
बचतकर्तामध्येका विन्देश्वरी साहले सहकारी संस्थाको कार्यालयमा ताल्चा लगाएर संचालकहरु सम्पर्क बिहीन भएको जानकारी संचारकर्मीलाई गराएपछि सहकारीमा आर्थिक हिनामिना भएको प्रकाशमा आएको हो ।
बचतकर्ताका अनुसार सहकारी संचालकले ८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेका छन् । २०६६ साल वैशाख २ गतेबाट सञ्चालनमा आएको संस्थाका १४ सय सदस्य छन् ।
जग्गा कारोबार, ढुकुटी संचालन, बिनाधितो ऋण उपलब्ध गराउने र सहकारीको संचालन खर्च अनियन्त्रित रुपमा गर्ने भएको कारण अधिकांश सहकारी संस्था जोखिममा रहेको छन् ।
महानगर क्षेत्रमा संचालनमा रहेका सहकारीको अनुगमन र नियमन गर्ने जिम्मेवारी महानगरपालिका कार्यालयले पाएपनि एकजना कर्मचारीको भरमा सहकारी शाखा संचालनमा रहेको छ । जनशक्ति अभावमा सहकारीको अनुगमन हुन सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४