धनगढी – बस आगजनीमा संलग्नलाई लुकाएको भन्दै कैलालीमा दुधे बालकसहित तीन जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–५ की सीता देउकर चन्द नेतृत्वको नेकपाका बर्दगोरिया गाउँपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापा रहेका छन्।
चन्द नेतृत्वको नेकपाको बन्दका क्रममा कैलालीमा बसमाथि आगजनी गर्नेलाई लुकाउन सघाएको भन्दै प्रहरीले ४ महिने शिशुसहित उनकी आमा र अन्य २ कार्यकर्तालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले केही दिन अघि कैलालीमा भएको बस आगजनीमा रुपलाल देउकरको संग्लता रहेको र सीताले उनलाई लुकाउन सघाएकाले पक्राउ गरेको बताए। रुपलाल र सीता देवर भाउजु रहेको आफन्तले बताएका छन्।
विप्लव समूहले भने विप्लवको कार्यकर्तालाई सघाएकै भरमा महिलालाई पक्राउ गरेको आरोप लगाएको छ।
उनीहरुलाई कैलालीको बर्दगोरिया गाउँपालिकाको बौनिया बजारनजिकैबाट बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४