भैरहवा- गुल्मी जिल्लाको राजनीतिक र सामाजिक आन्दोलनका अभिभावकसमेत मानिने विकासप्रेमी नेता रुद्रमणि भण्डारीको बिहीबार बिहान सडक दुर्घटनामा परी मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटना हुँदा भण्डारीको निधन भएको हो ।
बहुदलपछि भएको पहिलो संसदीय निर्वाचनमा गुल्मी जिल्लामा रहेका ३ क्षेत्रमध्ये क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका भण्डारी सांसदमा निर्वाचित भएका थिए ।
भौगोलिका हिसाबले गुल्मीको पश्चिममा पर्ने तत्कालीन क्षेत्र नं ३ को विकासको पूर्वाधारको सूत्रपात सांसद भण्डारीले नै गरेको गुल्मी कांग्रेसका पुराना नेता शेरजंगबहादुर बस्नेतले बताए ।
नेपाली कांग्रेस फुटेर प्रजातान्त्रिक हुँदा शेरबहादुर देउवासँगै प्रजातान्त्रिक कांग्रेसको गुल्मीमा नेतृत्व गरेका भण्डारी गुल्मीको राजनीतिक आन्दोलन, सामाजिक आन्दोलन, धार्मिक सहिष्णुता कायम गर्न र गाउँगाउँमा विकासका पूर्वाधार सिर्जना गर्नमा सधैं क्रियाशील रहने गरेको पूर्वक्षेत्रीय सभापतिसमेत रहेका बस्नेतले बताए । बस्नेतले भण्डारीलाई सम्झिँदै भने, ‘पूर्व सांसद रुद्रमणि भण्डारी गुल्मीको राजनीतिक, सामाजिक र विकासका लागि सिनियर नेता हो । राजनीतिप्रति निष्ठावान् भण्डारीको निधनले गुल्मी जिल्लालाई ठूलो नोक्सान पुगेको छ ।’
वर्तमान सरकारका श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रको बहुदल प्राप्ति पछिको पहिलो सांसद भण्डारी धुर्कोट गाउँपालिका वस्तुका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेस गुल्मी जिल्लाको पूर्वसभापतिसमेत रहेका स्वर्गीय भण्डारी पार्टीको महाधिवेशन प्रतिनिधि रहेका थिए । उनको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको पार्टीका जिल्ला सचिव खिलध्वज पन्थीले बताए । उनले भने, ‘पूर्व माननीय भण्डारीको सडक दुर्घटनामा परी दुखःद निधन भएको छ । सिंगो पार्टी स्तब्ध भएको छ ।’ तम्घासस्थित जिल्ला पार्टी कार्यालयमा उनीप्रतिको अन्तिम श्रद्धाञ्जलि कार्यक्रम हुनेछ ।
७१ वर्षीय पूर्वसांसद भण्डारीका २ पत्नी, एक छोरा र एक छोरी छन् । सडक दुर्घटनामा भण्डारीसहित मालिका गाउँपालिका १ का रोशन विकको पनि मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । गुल्मीको नेटा दर्लिङ झर्दै गरेको जिप कच्ची बाटोमा दुर्घटना हुँदा सडकबाट १ सय मिटरभन्दा तल खसेको गुल्मी प्रहरी प्रमुख दीपककुमार बस्नेतले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४