काठमाडाैं - भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन बिहीबार शुरु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट उम्मेदवार रहेका छन्।
भारतीय निर्वाचन आयोगका अनुसार, यस पटकका चुनावमा करिब ९० करोड मतदाताले मतदान गर्दैछन्। चुनाव सात चरणमा हुनेछ।
जनमत सर्वेक्षणहरुले ६८ वर्षीय प्रधानमन्त्री मोदीप्रति धेरै मानिसले विश्वास देखाएका छन्। तर यस पटक नेहरु–गान्धी परिवारको छायाँमा रहेको पुरानो दल इन्डियन नेसनल कङ्ग्रेसले कडा चुनौती दिने सम्भावना पनि देखिएको छ।
चुनावमा सम्भावित हिंसालाई मध्यनजर राखी सुरक्षा बललाई उच्च सतर्क अवस्थामा राखिएको छ। यसै साता माओवादी प्रभावित क्षेत्रमा शंकास्पद माओवादी विद्रोहीहरुले स्थानीय विधायक सहित पाँच जनाको हत्या गरेका छन्।
अनलाइन मिडिया र सामाजिक सञ्जालमा चुनावलाई प्रभावित तुल्याउने गरी गलत जानकारी, नक्कली समाचार, ट्रोल्स प्रवाह भइरहेका छन्। खासगरी फेसबुक र ह्वाट्सआपमा गलत सन्देश प्रवाह हुनेक्रम जारी छ। विश्वमै सस्तो इन्टरनेट सेवा र स्मार्टफोनका कारण गलत समाचार सन्देश प्रवाह गर्न सहज भएको ठानिएको छ।
भारतभर हजारौं दल र उम्मेदवार चुनावी मैदानमा छन्। भारतीय लोकसभाका ५४३ स्थानका लागि चुनाव हुँदैछ। आगामी मे १९ तारिखसम्म जारी रहने सात चरणको चुनावको अन्तिम नतिजा मे २३ मा सार्वजनिक हुनेछ।
करिब एक अर्ब ३० करोड जनसंख्या रहेको भारतीय चुनावका लागि ११ लाख विद्युतीय मतदान मेसिनको व्यवस्था गरिएको छ।
बिहीबारको पहिलो चरणको चुनावमा करिब १४ करोड २० लाखले मतदान गर्नेछन्। पहिलो चरणमा चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशदेखि असाम, उत्तर प्रदेश, जम्मु र काश्मिर तथा तेलाङ्गाना समेतका २२ राज्यका ९० स्थानका लागि चुनाव हुँदैछ।
यस पटकको चुनावमा आठ करोड ४० लाख नयाँ मतदाता थपिएका छन्।
प्रधानमन्त्री मोदीले बिहीबार बिहानै ट्वीट गरी मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ। मोदी र उहाँको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को चुनावमा भारी मतका साथ विजयी भएको थियो। भारतमा ३० वर्ष यता पहिलोपटक सन् २०१४ मा एउटै पार्टी भाजपालाई बहुमत प्राप्त भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४