काठमाडौं- नेपाल चिकित्सक संघले आकस्मिक रुपमा डाक्टरहरुको बृहत् भेला डाकेको छ । विभिन्न माग राख्दै धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले धरपकड गरेपछि संघले आकस्मिक भेला डाकेको हो ।
चिकित्सकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेर वीर अस्पताललमा सेवा सुचारु गर्न खोजेपछि संघ आक्रोशित बनेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै चिकित्सकको समायोजनसम्बन्धमा विस्तृत छलफल गरी विशेष रणनीति तर्जुमा गर्ने जनाएको छ।
विज्ञप्तिमा सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ समाजका प्रतिनिधिलगायत चिकित्सा पेसासँग संलग्न स्वास्थ्यसंस्थाका प्रतिनिधिलाई बिहीबार २ बजे संघको कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ।
सरकारले आन्दोलनरत चिकित्सकलाई धरपकड गर्न थालेपछि भावी रणनीति तय गर्न बृहत् छलफल डाकिएको संघले जनाएको छ । सरकारले आन्दोलनरत चिकित्सकको कुरा सुनुवाइ गर्नुको साटो बल प्रयोग गर्नु अत्यन्त निन्दनीय भएको संघको ठहर छ।
भेलाले यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गर्न सक्ने संघका महासचिव डा. लोचन कार्कीले जनाकारी दिए । सरकारले चिकित्सकलाई चिड्याउने काम गरेको उनको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४