काठमाडौं- सुनसरीको देवानगन्जमा भएको घटनामा गोली लागेर घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा देवानगन्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको ज्यान गएको हो।
बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो।
मेहताको निधनसँगै सुनसरीमा मात्र प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। घाइतेमध्ये देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो। देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो।
सुनसरी घटनापछि फैलिएको तनावमा सिरहामा समेत एक जनाको गोली लागेर ज्यान गएको थियो।