काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको सही उचाइ नाप्न निर्देशन दिएका छन्। सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई बुधबार बालुवाटारमा विदाइ गर्दै प्रधानमन्त्री ओलीले नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुन लागेको र यो नै आधिकारीक मापन हुने भएकाले सही नाप ल्याउन आग्रह गरे।
प्रधानमन्त्री ओलीले टोलीलाई सफलताको शुभकामना दिए। तर, मौसम र स्वास्थ्यलाई भने ख्याल राख्न उनले टोलीलाई सचेत गराए। ’लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस्। सगरमाथा त्यही हुन्छ। अर्को पटक गएर नापेर आए हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चारजना कर्मचारीको टोली बुधबार त्यसतर्फ जान लागेका हो। टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रवीन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४