वीरगन्ज – महानगरको व्यापारिक केन्द्र आदर्शनगर चोकमा अवस्थित हजारीमल धर्मशाला संरक्षणमा महानगरपालिका नेतृत्व उदासीन देखिएको भन्दै नेपाली कांग्रेस पर्साले विरोध जनाएको छ।
वीरगन्जको हजारीमल धर्मशालाको विषयलाई लिएर नेपाली कांग्रेस, पर्साले सार्वजनिक सम्पत्ति संरक्षणको लागि महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत चासो नदेखाएको भन्दै आन्दोलनको चेतावनीसमेत दिएको छ।
यसअघि गत माघमा पनि नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साले पत्रकार सम्मेलनमार्फत् धर्मशालाको जग्गा संरक्षण गर्न माग गर्दै महानगर र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएको थियो। विगत दुई महिनादेखि धर्मशालाको पुरानो संरचना भत्काउने कार्य जारी रहेको छ। महानगरपालिका वडा नम्बर ६ मा अवस्थित ६ कठ्ठा क्षेत्रफलमा फैलिएको यो धर्मशालाको भौतिक संरचना जीर्ण अवस्थामा रहेको छ।
हजारी मल सेवा ट्रष्टमार्फत धर्मशालालाई सेवा र व्यवसाय दुबै प्रयोजनको लागी प्रयोगमा ल्याउने उद्देश्यले पुनर्निर्माण गर्न लागिएको जानकारी आफूलाई धर्मशाला ट्रष्टले दिएको नगर प्रमुख विजय सरावगीले बताएका थिए । मेयर सरावगी अहिले मुलुक बाहिर रहेका छन्।
भूमिगत पार्किङ र पहिलो तल्लामा व्यवसायीक भवन तथा बाँकी धर्मशालाको निर्माण गर्न लागिएको ट्रष्टका सदस्यले मौखिक जानकारी गराएपनि कार्ययोजना र नक्सांकन सार्वजनिक गरेका छैनन्।
वीरगन्ज महानगर–६ आदर्शनगरस्थित हजारीमल धर्मशाला माघ महीनादेखि तोडफोड भइरहेको छ। तोडफोड कसको आदेशमा भइरहेको हो भन्ने अहिलेसम्म नखुलेकोले शंकास्पद देखिएको नेपाली कांग्रेस, पर्साका सभापति अजय द्विवेदीको भनाई छ। सार्वजनिक सम्पत्तिको संरक्षणको लागी महानगरपालिका र स्थानीय प्रशासन दुबैले उदासिनता देखाएको भन्दै कांग्रेसले आक्रोश व्यक्त गरेको छ।
दुबै निकायले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्नेमा माघ महीनादेखि सय वर्षभन्दा पनि पुरानो हजारीमल धर्मशालाको तोडफोडप्रति संवेदनशील नहुनु शंकास्पद देखिएको सभापति द्विवेदीले बताए। नेपाली कांग्रेसको तर्फबाट उपमेयर निर्वाचित शान्ति कार्कीले समेत हजारीमल धर्मशाला तोडफोड सम्बन्धमा मेयरले स्पष्ट जानकारी नदिएको भन्दै गुनासो गरेकी छिन्।
प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले २०६४ सालमा हजारीमल सेवा ट्रस्ट दर्ता गराएर केही व्यक्तिले सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्न खोजेको आरोप लगाए। स्वर्गीय हजारीमल अग्रवालका परिवारको सदस्य भारतीय नागरिक हुन्। उनीहरु भारतीय भएकोले हजारीमल धर्मशाला र वीरगन्ज–१६ इनर्वामा रहेको ५ बिघा क्षेत्रफलमा फैलिएको हजारीमल बगैंचालाई फर्जी कागज पत्रको माध्यमबाट निजी सम्पत्ति बनाएर हडप्न भूमाफियाले लामो समय देखि प्रयास गर्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४