काठमाडौं - 'कुपुत्रो जायते, क्वचिदपि कुमाता नः भवति।'
यो नीति वचनको अर्थ हो, सन्तान खराब हुन सक्छन् तर आमा कहिल्यै पनि खराब हुन्नन्। यतिबेला यो नीति वचनलाई पूर्वसांसद गायत्री साहले उपहास गरिदिएकी छन्, आफ्नै कोखबाट जन्मिएको सन्तान लिन नमानेर। उनको यो व्यवहारले आमाको ममतालाई नै गिज्याइरहेको छ।
गत फागुन २८ गते ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनले छोरा जन्माएकी थिइन्। अहिले त्यो बच्चा लिन नमानेपछि मेडिसिटी अस्पताल प्रशासन तनावमा छ। साहले आफ्नो गर्भमा अपांग बच्चा रहेको जानकारी अस्पतालले समयमै नदिएको भन्दै बच्चा लिन अस्वीकार गरेकी हुन्।
बच्चा जन्माउनुपूर्व साहले मेडिसिटीमै नियमित स्वास्थ्य परीक्षण गराएकी थिइन्। उनको नियमित स्वास्थ्य परीक्षण अस्पतालकी प्रसूति विशेषज्ञ डाक्टर मीरासिंह श्रेष्ठले गरेको अस्पतालकी सूचना अधिकारी मनिता पोखरेलले बताइन्। अस्पतालले साहलाई क्याडरेपल टेस्ट अर्थात् डाउन सिन्ड्रोम परीक्षण गराउन सल्लाह दिएको थियो। नेपालमा यो रोगको स्वास्थ्य परीक्षण गर्ने प्रविधि नभएपछि रगत परीक्षण गर्न भारत पठाइएको थियो। एक हजार बच्चामा देखिन सक्ने यो रोगको समयमै रिपोर्ट नआउँदा बच्चा अपांग जन्मिएको अस्पतालको दाबी छ।
बच्चाको जिम्मा आमा वा अभिभावकले नलिए कानुनी रुपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा अस्पतालले तयारी गरेको छ। अस्पतालले यसबारे बच्चाकी आमा गायत्री साह, बुवा राजेश महतो र परिवारसँग छलफल गरेको छ।
नवजात शिशुको एनआइसियुमा उपचार भइरहेको छ। आफैंले जन्म दिएको बच्चा अस्पतालले जिम्मा लिनुपर्ने भन्दै बच्चा लिन अस्वीकार गरेकी पूर्वसांसद गायत्री साहको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ। यो घटनाबारे प्रहरी अनभिज्ञ छ। ललितपुर प्रहरी परिसरकी प्रहरी उपरीक्षक दर्गासिंह घटनाबारे अनभिज्ञ रहेको बताउँछिन्। उनले भनिन्, ‘हाम्रो काम शान्तिसुरक्षा दिने हो। कसले बच्चा कहाँ पायो के भयो भन्ने हामीलाई थाहा हुँदैन। त्यस विषयमा उजुरी आयो भने हामी कारबाही अगाडि बढाउँछौं।’
अधिवक्ता ओमप्रकाश अर्यालले मानवीय नाताले पनि जन्मेको बच्चाको जिम्मा अभिभावकले लिनुपर्ने बताए। उनले अस्पतालको कुनै कमजोरीमा छानबिन गर्न सकिने भएपनि बच्चा स्वीकार गर्दिन भन्न नमिल्ने बताए। उनले यस्तो कार्य अमानवीय र कसुर जन्य अपराध भएकाे बताए। अभिभावकले गल्ती सच्याएर बच्चा स्वीकार नगरे वा बच्चाको कुनै कारणले मृत्यु भए बच्चाको हत्या गरेको अभियोगमा आमाबुवामाथि मुद्दा चलाउन सकिने अर्यालले बताए।
०६४ चैत २८ गते भएको पहिलो संविधानसभा चुनावमा समानुपातिक सभासद् बनेकी नेपाली जनता दलकी पूर्व सांसद गायत्री साहले ०६६ साउन ८ गते बेलायत जानका लागि लिएको पासपोर्ट अर्कैलाई बेचेपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो। पासपोर्ट बेचेको अभियोग प्रमाणित भएपछि साहले एक वर्ष जेल सजाय भोगेकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४