बुधबार, साउन २०, २०८३

चुरे फाँड्दैछ प्रदेश सरकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - जंगल क्षेत्र कैलालीको गोदावरीमा प्रदेश राजधानी तोक्ने निर्णय गरेर आलोचित बनेको सुदूरपश्चिम प्रदेश सरकारले चुरे क्षेत्र संकटमा पार्ने गरी नयाँ सडक योजना निर्माण गर्ने काम अघि बढाएको छ।

चुरे क्षेत्र संकटमा पर्दै गइरहेका बेला प्रदेश सरकारले गौरवको आयोजना भन्दै चुरे फेदी हुँदै चिसापानी–ब्रह्मदेव धार्मिक सडक निर्माणको योजना अघि सारेको हो। प्रदेशका भौतिक तथा योजनामन्त्री पठानसिंह बोहराले धनगढीमा आयोजित एक कार्यक्रममा चुरे फेदी हुँदै कर्णाली चिसापानीबाट कञ्चनपुरको ब्रह्मदेवसम्म धार्मिक पर्यटन सडक निर्माण गर्ने उद्घोष गरेका छन्। यसका लागि डिपिआर निर्माणको तयारीसमेत भइरहेको उनले जनाएका छन्। चुरे फेदीबाट निर्माण गरिने सडक योजनाले उल्टो चुरेबाट आउने बाढीको बहाव रोक्ने दाबी मन्त्री बोहोराले गरे।

पानीको बहाव रोकिँदा रिचार्ज बढ्छ,’ उनले भने, ‘सडक निर्माण गर्दा रूख कटानी र भू–क्षय नहुने गरेर काम अघि बढ्नेछ।’ उनले वातावरण प्रभाव मूल्यांकन गरेर सडक योजना लागू हुने बताए। वातावरण प्रभाव मूल्यांकनले वातावरण प्रभावमा परेको असरका रोकथामसमेत अवलम्बन गरिने उनको भनाइ छ। कैलाली–कञ्चनपुरलाई सीधा जोड्ने हुलाकी र महेन्द्र राजमार्गपछि अर्को ठूलो सडक योजनासमेत बन्ने बताए। त्यसैले यो सडक निर्माण प्राथमिकतामा राखिएको उनले बताए। उनले पश्चिम ब्रह्मदेवबाट भीमदत्त नगरपालिकाले उक्त धार्मिक पर्यटन मार्गको काम सुरु गरिसकेको जानकारी दिए । उनका अनुसार अहिले १५ किलोमिटर सडक निर्माण भइसकेको छ।

वन तथा वातावरण विज्ञहरुले भने विकास निर्माणका नाममा चुरेलाई चलाउनै नहुने बताएका छन्। वनविज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. प्रभु बुढाथोकीले चुरेको घाँचैघाँचमा सडक निर्माण गर्ने योजना प्रदेश सरकारले ल्याउनु भनेको तराई क्षेत्रमा भविष्यमा जोखिम निम्त्याउने काम भएको बताए। ‘चुरे भनेको निकै कमलो भू–भाग हो यसलाई सडक निर्माण गर्ने नाममा चलाउनु भनेको भविष्यका लागि निकै जोखिम निम्त्याउनु हो’, बुढाथोकीले भने, ‘भौगोलिक भूबनोटका हिसाबले चुरेमा ठूला सडक योजना निर्माण गर्नु उपयुक्त छैन।’ वातावरणमा दीर्घकालीन असर पर्ने खालले प्रदेश सरकारले चुरेको फेदीमा सडक निर्माण गर्नै नहुने उनको तर्क छ। भविष्यमा ठूलो जोखिम निम्त्याउने खालका यस्ता कार्य नगर्न उनले प्रदेश सरकारलाई सुझाव दिए।

मन्त्री बोहोराले चुरेको फेदीमा सडक निर्माण गर्दा बाढीको बहाव रोकिन्छ भन्ने तर्कलाई वन तथा वातावरण विज्ञहरुले भने ठाडै खण्डन गरेका छन्। वन तथा वातावरण विज्ञ डाक्टर विनोद भट्टले मन्त्रीले भने जस्तो सडक निर्माणले केही सीमित ठाउँमा पहिरो रोकथाम गरे पनि त्यसबाट फाइदाभन्दा नोक्सान धेरै हुने बताए। राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत चुरे संरक्षण गुरुयोजनाका मस्यौदाकारसमेत रहेका भट्टले सबै मिलेर चुरे जोगाउन लाग्नुको साटो सरकार नै चुरेको फेदीमा सडक निर्माण गर्न लाग्नु भनेको निकै दुःखको कुरा भएको बताए। ‘उक्त गुरुयोजना सरकारले पास गरिसकेको छ तर प्रदेश सरकार नै चुरे मास्ने गरी सडक निर्माण गर्न लाग्छ’, भट्टले भने।

पानी रिचार्ज हुने भाबर क्षेत्र बचाउन नसकिए तराईको भविष्य संकटमा पर्ने उनले बताए। कैलाली, कञ्चनपुरको उर्वर खेतीयोग्य भूमि जोगाइराख्न चुरेलाई कुनै पनि हालतमा चलाउन नहुने भट्टले जोड दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।