जनकपुरधाम- गत आइतबार भीषण हावाहुरीका कारण प्रभावित बारा र पर्साका विभित्र क्षेत्रहरुमा निरन्तर सहयोगी हातहरु बढी रहेका छन् । प्रभावितहरुलाई गासवासदेखि लत्ताकपडा उपलब्ध गराउन विभित्र संघसंस्थाहरुले सहयोग गर्दै आइरहेका छन् ।
यसै क्रममा काठमाण्डुस्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले हुन्डरी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पताल ट्रस्टकी सदस्य अनामिका निधिको नेतृत्वमा पुगेको टोलीले बारा जिल्लाको हर्दिया र परशुरामपुरमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी पीडितले लभान्वित भएको निधिले बताएकी छिन् । अस्पतालबाट आएको विभित्र चिकित्सक तथा स्वयंसेवकको टोलीले पीडितहरुको घरदैलो पुगेरसमेत स्वास्थ्य सेवा प्रदान गरेको निधिले जानकारी दिइन् ।
हावाहुरीका कारण सयौं परिवार घरबार विहीन भएको र यस विपत्तको घडीमा उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर नपरोस उद्देश्यका साथ अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गरेको उनको भनाइ छ ।
‘विपत्त आएको बेला सम्पूर्ण देशवासी एक भएर अगाडी बढ्नु जरुरी हुन्छ,’ उनले भनिन्,‘पीडितहरुलाई स्वास्थ्य उपचार जरुरी रहेको जानकारी पाउनसाथ उपलब्ध स्रोत साधन परिचालन गरेर शिविर सञ्चालन गरेका हौँ ।’
बारामा सञ्चालन भएको स्वास्थ्य शिविरमा डा.दीपक दत्त, ट्रस्टका सदस्य निलु कर्ण, विश्वास विक्रम, उमेश पूर्वे, कुनाल मिश्र, विमलेश झालगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४