जनकपुरधाम - कहिले पत्रकारलाई जुत्ताले हिर्काएर त कहिले मेयरलाई पागल भनेर विवादित बन्दै आएका प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह फेरि अर्को उपद्रो गरेको छन्।
यस पटक उनको निसानामा पत्रकार वा मेयर नभएर शिक्षक परेका छन्। प्रदेश तहमा शिक्षासम्बन्धी सम्पूर्ण कार्य सामाजिक विकास मन्त्रालयले हेर्दै आएको छ।
आइतबारदेखि सुरु भएको एसइई परीक्षा अनुगमन गर्न हिँडेका मन्त्री साहले एक शिक्षकलाई दलित भनेर हेला गरेपछि विवादमा मुछिएका हुन्। मन्त्री साह जनकपुरधाम–९ स्थित सरस्वती माध्यमिक विद्यालयमा परीक्षा अनुगमन गर्न पुगेका थिए। सोही क्रममा निरीक्षकका रुपमा खटिएका विद्यालयका शिक्षक बेचन रामलाई मन्त्री साहले दलित भन्दै दुव्र्यहार गरेको आरोप लागेको छ।
परीक्षा अनुगमनका क्रममा शिक्षक रामलाई मन्त्री साहले ‘तपाईंले परिचयपत्रमा फोटो किन नराखेको ?’ प्रश्न गरेका थिए। शिक्षक रामले फोटोसहितको सरकारी प्यानकार्ड देखाउँदै ‘परीक्षाको परिचयपत्रमा फोटो नभए पनि मेरो सरकारी प्यानकार्ड यहाँ छ’ भनेका थिए।
यत्तिकैमा मन्त्री साहले हिन्दीमा ‘म पढेलेखेको छुइन। फोटोसहितको परिचयपत्र किन नराखेको ? चमारहरुको संस्कार नै हुँदैन’ भनेर आफूलाई दुव्र्यवहार गरेको शिक्षक रामले बताएका छन्।
परीक्षा सुरु भएको करिब एक घन्टापछि परीक्षा केन्द्रमा पुगेका मन्त्री साहले त्यहाँ खटिएका कतिपय महिला तथा पुरुष शिक्षकहरुलाई जागिर खाइदिने देखि निलम्बन गरिदिनेसम्मका धम्की दिएको केन्द्राध्यक्ष सत्यनारायण मण्डलले आरोप लगाएका छन्।
केही परीक्षा निरीक्षकहरुको परिचयपत्रमा फोटो नदेखेपछि मन्त्री साहले विद्यालयका प्राधानाध्यापक एवं केन्द्राध्यक्ष मण्डलले ‘तपाईंलाई हेडमास्टर कसले बनायो। केन्द्राध्यक्ष बत्रे लायक मानिस नै होइन’ भन्दै अपशब्द प्रयोग गरेर दुव्र्यवहार गरेको बताएका छन्।
मन्त्री साहले परीक्षाका क्रममा शिक्षकहरुलाई दुव्र्यवहार गरेको भन्दै विद्यालयका प्राधानाध्यापक, कार्यरत शिक्षकका साथै नेपाल शिक्षक संघले राजनीमाको माग गरेका छन्।
नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवले केन्द्राध्यक्षदेखि निरीक्षकको रुपमा खटेका शिक्षकहरुलाई दुव्र्यवहार गरेका भन्दै मन्त्री साहले पदबाट राजीनामा दिनुपर्ने बताए। यादवले भने, ‘परीक्षामा कहीँकतै त्रुटि भए मन्त्रीज्यूले केन्द्राध्यक्षसँग सोध्ने हो। कसैको जाति वा समुदायको आधारमा हेला गरेर दुव्र्यवहार गर्न पाइत्र।’
नेपाल शिक्षक संघ धनुषाले प्रेस विज्ञप्ति जारी गर्दै सरस्वती परीक्षा केन्द्रमा पुगेर मन्त्री साहले केन्द्राध्यक्षका साथै निरीक्षकहरुलाई गालीगलौज गरेर दुव्र्यवहार गरेर गैरजिम्मेवारपूर्ण व्यवहार प्रदर्शन गरेको आरोप लगाएको छ।
शिक्षक संघका जिल्ला अध्यक्ष रामस्नेही यादवले जारी गरेको विज्ञप्तीमा दलित वर्गका एक शिक्षकलाई जातिको नाम लिएर दुव्र्यवहार गर्नु मन्त्री साहले गैरमानवीय र गैरसंवैधानिक कार्य गरेको भन्दै दलित आयोग, परीक्षा समन्वय समिति, प्रदेश र संघीय सरकारसँग अविलम्ब छटनाको छानबिन गर्न माग गरिएको छ।
अभिभावक समितिका सदस्य प्रदीप लालले वर्षभर विद्यालयमा पठनपाठन भए नभएको कहिले हेर्न नआउने तर परीक्षा अनुगमनको नाउँमा शिक्षकहरुमाथि धौस देखाउन नमिल्ने बताए। मर्यादित परीक्षाको नाउँमा केन्द्राध्यक्ष वा निरीक्षकहरुसँग मन्त्रीजस्तो व्यक्तिले दुव्र्यवहार गर्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ।
यता मन्त्री साहले भने आफूले परीक्षालाई मर्यादित बनाउनमात्र चाहेको भन्दै कुनै निरीक्षक वा केन्द्राध्यक्षलाई दुव्र्यवहार नगरेको प्रतिक्रिया दिएका छन्। प्रदेशको शैक्षिक गुणस्तर सुधार गर्न परीक्षा मर्यादित बनाउनु जरुरी रहेको र सोहिअनुसार आफूहरु अगाडी बढेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४