काठमाडौं। बलिवुड अभिनेता शाहरुख खान अभिनीत आगामी फिल्म ‘किङ’ को सङ्गीत अधिकार करिब ५० करोड भारतीय रुपैयाँमा बिक्री हुने तयारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०२३ मा ‘पठान’ र ‘जवान’जस्ता दुई सफल चलचित्र दिएपछि शाहरुख यस वर्षको क्रिसमसमा निर्देशक सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘किङ’ मार्फत दर्शकमाझ आउँदै छन्।
फिल्मको चर्चा उच्च रहेको बेला यसको सङ्गीत अधिकारका लागि विभिन्न कम्पनीबीच प्रतिस्पर्धा भइरहेको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोनी, सारेगामा र टी-सिरिजले अधिकार खरिदका लागि ठूलो रकम प्रस्ताव गरेका छन्। तीमध्ये एक कम्पनीले करिब ५० करोड भारतीय रुपैयाँको प्रस्तावसहित अग्रस्थानमा रहेको जनाइएको छ।
यदि यो सम्झौता सम्पन्न भएमा हिन्दी चलचित्र उद्योगमा मूल सङ्गीत एल्बमका लागि भएका सबैभन्दा ठूला सम्झौतामध्ये यो तेस्रो हुनेछ। यसअघि ‘रामायण’ र ‘धुरन्धर-२’का सङ्गीत अधिकार अझ ठूलो रकममा बिक्री भएका थिए। ‘रामायण’का दुवै भागको सङ्गीत अधिकार करिब ७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको बताइएको छ।
निर्देशक सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘किङ’ आगामी क्रिसमस २०२६ को अवसरमा प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको छायाङ्कन अन्तिम चरणमा पुगेको छ भने करिब १५ दिनको काम मात्र बाँकी रहेको जनाइएको छ। अहिले फिल्मको सम्पादन तथा अन्य प्राविधिक काम तीव्र रूपमा भइरहेको बताइएको छ।