काठमाडौं – नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका तीनजना महानुभावहरूलाई २०७५ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ।
नइ प्रकाशनले दुई लाख रुपियाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ संयुक्त रूपमा भारतका १०१ वर्षीय हायमनदास राई किरात तथा ८६ वर्षीय डा. लक्खीदेवी सुन्दासलाई समर्पण गर्ने निर्णय गरेको छ। नेपाली वाङमयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमासमेत महत्त्वपूर्ण योगदान पुर्याएबापत उनीहरूलाई सो पुरस्कार प्रदान गरिने भएको हो। यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ।
यसैगरी नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति अमेरिकाका गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ। यो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ।
नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो।
शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १००औं जन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा नइ अन्तर्राष्ट्रिय पुरस्कारहरू समर्पण गरिनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४