धनगढी - धनगढी–अत्तरिया सडक सुचारु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको सुधार गृहका कर्मचारी मृत फेला परेको घटनाको छानविनको माग गर्दै आइतबार बिहानैदेखि धनगढी–अत्तरिया सडक अवरुद्ध गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड, कैलाली प्रहरी प्रमुख आभुषण तिम्सिना लगायत र पीडित पक्षबीच भएको छलफलपछि सडक सुचारु भएको हो। सहमतिअनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले मृत फेला परेका धनगढीका जनक ढुङ्गालको शव पोष्टमार्टका लागि सेती अञ्चल अस्पताललाई विशेषज्ञ टोली ल्याउन आग्रह गर्ने भएको छ।
घटनाको अनुसन्धानलाई निरन्तरता दिने, कानुन बमोजिमको क्षतिपूर्तीका लागि पहल गर्ने र राहतका लागि स्थानीय तहसंग अनुरोध गर्ने सहमतिमा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको हो। स्थानीय र पीडित पक्षले ढुङ्गालको मृत्यु शंकास्पद भएको भन्दै छानविनको माग गर्दै आएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४