काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन्।
ऊर्जामन्त्री पुन दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ४५६ मेगावाट क्षमता भएको तामाकोसी जलविद्युत आयोजनाको अवस्थाबारे जानकारी लिन शुक्रबार साँझ दोलखा पुगेका थिए। मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण ओलीसहित आयोजनास्थल पुगेका हुन्। उनले तोकिएको समयमा आयोजना ल्याउनुपर्ने भन्दै त्यसमा गम्भीर भएर काम गर्नसमेत निर्देशन दिए।
शनिबार बिहान आयोजनाको बांधस्थल,सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर उनले जानकारी लिए। मन्त्री पुनले करिब ३ घन्टा आयोजना स्थलकै निरीक्षणमा बिताएका हुन्।
उनले आयोजनाको अनुगमन, निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागी आफू प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताए। आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग समेत आयोजनाको प्रगतिबारे उनले जानकारी लिए।
ऊर्जामन्त्री पुनले माथिल्लो तामाकोसी आगामी मंसिरभित्र सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उनले तोकिएको समयमा तामाकोशी जलविद्युत आयोजना ल्याउनु पर्ने भन्दै त्यसमा गम्भिर भएर कामगर्नसमेत निर्देशन दिए।
‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भीर चासो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनको लागि मैले पूरै ध्यान केन्द्रित गरेको छु,’ उनले भने, ‘म समय तालिकाभित्रै आयोजना पूरा हुनेमा विश्वस्त छु।’
आफूले आयोजना प्रमुखदेखि कार्यकारी निर्देशक राखेर सुरुदेखि नै तालिकाअनुसार काम हुनुपर्ने धारणा राखेको मन्त्री पुनको भनाइ थियो। मन्त्री पुनले ४५६ मेगाबाट क्षमता भएको माथिल्लो तामाकोशी आगामी मंसिर भित्र सम्पन्न हुने विश्वास व्यक्त गरे।
उनले नेपालीले ठुला आयोजना गर्न सक्दैन भन्ने सोच विगतमा रहेको भन्दै यसबाट नेपालीले ठुला आयोजना बनाउन सक्छन् भन्ने पुष्टि भएको धारणासमेत राखे। मन्त्रीपुनले तामाकोशी नेपालकै लागि नमुनायोग्य र महत्वपूर्ण भएको बताए।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री पुन आयोजनाको निरीक्षण भ्रमणमा गत वर्ष दोलखा पुगेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४