आइतबार, साउन १७, २०८३

जवानीका लागि जुम्बा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जुम्बामा यसरी जम्ने सपना सुरुमा प्रमिला श्रेष्ठको थिएन। जुम्बामा जाँदाजाँदा उनलाई पनि एउटा जुम्बा सेन्टर खोल्ने रहर लाग्यो। रहरै रहरमा जुम्बा सेन्टर खोलेकी प्रमिलाको जीवन नै अब जुम्बा भइदिएको छ। जुम्बाले उनको जीवनलाई रंगिन बनाइदिएको छ, व्यवसायिक रुपमा पनि उनी खुसी नै छन्।

खासगरी महिलालाई लक्षित गरेर उनले खोलेको आरके जुम्बा डान्स सेन्टर शान्तिनगरमा छ। त्यहाँ केटीहरु बढी आउँछन्। जुम्बाले चिटिक्क जीउडाल बनाएकी प्रमिलालाई देखेर जुम्बामा आउनेहरु दंग पर्छन्। प्रमिला भन्छिन्, जुम्बाले जीउलाई फिट बनाइदिने मात्र होइन, जवानी पनि बचाइदिन्छ।

सहरको बसाइ अनि व्यस्त जीवनशैली कारण सबैलाई जीउ फिट राख्ने चिन्ता छ। महिलालाई अझ् यो चिन्ताले बढी सताउँछ। त्यसैले जुम्बातिर अचेल महिलाको क्रेज बढेको छ। संगीतमा झुम्दै, नाच्दै शारीरिक अभ्यास गर्ने एउटा रमाइलो कला हो जुम्बा हो। महिलामा पनि जिमको क्रेज बढ्दै गएको छ। एरोबिक्स पल्स डान्स नै जुम्बा हो। कोलम्बियाबाट सुरु भएको जुम्बा अहिले विश्वव्यापी बनेको छ। जुम्बाले महिलाको आत्मविश्वास बढाउन पनि बल पुर्याउने जुम्बाप्रेमीहरु बताउँछन्।

स्लिम देखिनु र आफूले चाहेको कपडामा सजिनु हरेक महिलाको चाहना हो। व्यस्तता र खानपानको तालिका मिलाउन नसक्नुको कारण नै उच्च तौल र मोटोपन महिलाको दुश्मन बनेको छ।

प्रमिला भन्छिन्, ‘मार्केटमा जुन कुराको बढी डिमान्ड हुन्छ त्यहीअनुसार काम गर्नुपर्छ। आजभोलि महिलाका लागि चिटिक्क परेको जिउडाल र स्लिम बन्नु नै पहिलो प्राथमिकता बनेको छ।’ गृहिणी जसको उमेर ढल्किसकेको छ उनमा भने उच्च रक्तचापको सम्भावना बढी हुन्छ। जुम्बा वा एरोबिक्समा डान्स गर्दागर्दै लड्न सक्ने भएको कारण धेरै उमेरका गृहिणीलाई खतरा हुने श्रेष्ठ बताउँछिन्।

सुरुवातमा सजिलो हुँदैन। नाच्न वा शरीर लचकदार बनाउन समय लाग्छ। बिस्तारै गर्दै जाँदा सजिलो हुने हो। आजभोलि जुम्बा सेन्टर गृहिणीले नै भरिएको छ। मोटोपन पुरुषको भन्दा पनि महिलाको ठूलो समस्या बनेको छ।

‘मेरा गुरु नै यु ट्युब हो’, उनी भन्छिन्। जुम्बामा आउने धेरै महिला विशेषगरी उनलाई नै हेरेर आर्कषित भएका छन्। आफू फिट र स्लिम भएकै कारण पनि आरकेप्रति महिला आकर्षण बढेको हो।उनी भन्छिन्, ‘महिलामा विवाहपछि मोटाउने समस्या देखिन्छ। आमा बनेपछि आधा उमेर पनि यत्तिकै बितेको प्रायः महिलाले महसुस गर्छन्। परिवार सम्हाल्दैमा दिन बित्छ। आफ्नो लागि समय मिलाउन सकिँदैन। अरुका लागि मात्र बाँचेको जस्तो महसुस पनि हुन्छ। यस्तो अवस्थामा नाचेर भए पनि मन खुसी बनाउन सकिन्छ।'



उफ्रिएर मात्र हुँदैन

स्वस्थ, स्लिम र फिट देखिन व्यायामसँगै जन्क फुड त्याग्नुपर्छ। अरु महिलाको तुलनामा व्यायाम गरेका महिलाको उमेर पनि दस वर्ष नै कम देखाउने जुम्बा प्रशिक्षकहरु बताउँछन्। व्यायाम गर्ने तर खानामा नियन्त्रण गर्न सकिएन भने उफ्रिएर मात्र हुँदैन।

जुम्बा प्रशिक्षक शिखरश्री पाण्डे भन्छिन्, ‘धेरै मोटी भएका कारण नै जिम र जुम्बामा चाहना बढेको हो।’ यो पेसामा उनी चार वर्षदेखि निरन्तर रुपमा लागिरहेकी छिन्। उनी भन्छिन्, ‘व्यायाम मोनोटोनस हुन्छ भने जुम्बा र एरोबिक्समा संगीतको मिश्रण हुन्छ, जसले आत्मविश्वास बढाउन मद्दत गर्दछ।’ व्यायामको असर शरीरमा ३० प्रतिशत मात्र हुन्छ भने ७० प्रतिशत खानाको असर हुन्छ। कति स्वस्थ खाना खान्छौं हामी भन्नेमा शरीरको बनावट देखिन्छ। उफ्रिएर मात्र फिट भइन्छ भन्ने धारणा गलत हो।

मिस्टिक भाइब्स फिटनेस स्टुडियोका मालिक सनित अग्रवाल भन्छन्, ‘धेरै पहिले मानिस खेतीपाती गर्थे, हिँडडुल गर्न मन पराउँथे। तर आजका महिला तथा युवामा काम मात्र गरेर फिट रहन सक्ने वातावरण छैन।’

अचलेका साना बच्चामा पनि एन्जाइटी, थाइरोइड, डिप्रेसन देखिएको छ। जुम्बा जिम र एरोबिक्सको पछि लाग्नु सट्टा व्यायाम के हो र यसका फाइदा बुझ्न जरुरी छ। उपयुक्त व्यायामलाई नियमित जीवनमा उतार्न जरुरी छ। व्यायाम गर्न किन जरुरी छ भन्ने सबैले बुझ्नुपर्छ।

जिम र जुम्बा क्लास जानु अहिलेको समयमा प्रायः महिलामा एक महत्त्वपूर्ण आवश्यकता बनेको छ। वजन घटाई राम्रो देखिनकै निम्ति बिहान र बेलुकाको समय मिलाएर फिटनेस सेन्टर पुग्ने गर्छन् महिला।



जुम्बा पसेपछि फ्रेश

घर तथा अफिसको काममा दिक्क हुनेहरु जुम्बा पसेपछि फ्रेस हुने बताउँछन्। पाटनकी रेश्मा खत्री भन्छिन्, जुम्बा पसेपछि कुल फिल हुन्छ। बेग्लै संसार अनि बेग्लै आनन्द।  जुम्बा क्लास जाँदा स्वास्थ्य पनि बलियो हुने र मनोबल पनि बढ्ने रेश्माको अनुभव छ। जिमभन्दा पनि जुम्बा र एरोबिक्स महिलाका लागि उपयुक्त हुन्छ, रेश्मा भन्छिन्।

साथीहरुमाझ पनि जिम र जुम्बा रोचक चासोको विषय बनेको छ। आकर्षक र फिट देखिनु आजका महिलाका लागि महत्त्वपूर्ण आवश्यकता हो। हिन्दीभन्दा पनि अझै अंग्रेजी संगीतमा डान्स गर्न अझै धरै रमाइलो लाग्ने जुम्बामा नाच्ने महिलाको अनुभव छ।

उनी भन्छिन्, ‘मेरो खास समस्या मोटोपन हो। घरमै बसेर पनि नियमित रुपमा व्यायाम गर्ने हो भने घटाउन सकिन्छ। तर एक्लै र समूहमा गर्नु फरक हुन्छ।’ दिनहँु एक्लै नाच्न भने सबैलाई अल्छी लाग्छ। यसका साथै व्यायाम र शरीरलाई पुग्ने आहार समय तालिका मिलाएर कसरी खाने भन्नेको ज्ञान पनि कम हुन्छ।

‘नेपाली, हिन्दी र अंगे्रजी गीतलाई रिमिक्स र फास्ट ट्र्याकमा बजाई नाच्ने हो र यसमै छ मजा’, उनी भन्छिन्। जुम्बा डान्सले शरीरलाई गतिशील, मन शान्त र खुसी राख्ने उनको विश्वास छ।जुम्बा र एरोबिक्स सुरुमा गर्दा गाह्रो हुने उनी बताउँछिन्। गाह्रो भए तापनि ऐनाअगाडि आफैंलाई हेरेर नाच्दा रमाइलो र खुसी मिल्ने उनको अनुभव छ। उनी भन्छिन्, ‘गाह्रोल बिर्सेर नाच्नु र हास्नुको मजा पनि छुट्टै छ। एक वर्षअगाडि र अहिलेको तुलनामा आफू होइन कि जस्तो लाग्छ। शरीरमा फूर्ति र आत्मविश्वास वढेको महसुस भएको छ।’

जुम्बामा गृहणीहरुको भीड

पाटन जिममा जुम्बा र एरोबिक्सका लागि आउने गृहिणीको सङ्ख्या बढिरहेको बताउँछन् क्लबका सञ्चालक सरासु ताम्राकार। उनी भन्छन्, ‘पुरुषभन्दा पनि आजभोलि महिला आफ्नो फिटनेसप्रति अझै बढी सचेत र चासो राखेको देखिन्छ। फिट रहन माटोपन हटाउन प्रमुख व्यायाम एरोबिक्स हो। उनका अनुसार जुम्बा डान्स महिलाहरुले रुचाउनुमा विशेष दुई कारण छ। उनी भन्छन्, ‘महिलामा जुम्बा क्रेज बढ्नुको अर्को प्रमुख कारण पार्टीमा नाच्नु पनि हो। समयको मागअनुसार विवाह वा भोजमा हल्का डान्स स्टेप गर्नकै निम्ति पनि महिलाहरुले जुम्बा वा एरोबिक्स गरेको पाइन्छ।’ 

तर जुम्बा र एरोबिक्स एउटै हलमा गरिने भए तापनि दुई फरक व्यायाम हो। उनका अनुसार जुम्बा र अन्य व्यायाम एक माध्यम मात्र हो। ‘पहिलो भूमिका खानाकै हुन्छ। खाना, व्यायाम र आराम तीन चिज मिलाउन सकियो भने सधंै फिट रहन सकिन्छ’, उनी भन्छन्। हड्डी खिइएको र शरीरको जोर्नी समस्या भएकाले धेरै जुम्बा र एरोबिक्स नगर्न जुम्बा प्रशिक्षकहरु सल्लाह दिन्छन्। 

‘पूरै दिन घरमा बसेर समय बर्बाद गर्नुसट्टा जुम्बा र एरोबिक्सलाई मनोरञ्जनको माध्यम बनाई आफू स्वस्थ बन्ने बाटो बनाएको छ’, सरिता मिश्र भन्छिन्। शरीरमा फूर्ति र छिट्टै थकान महसुस हुने समस्याबाट उनी टाढा भएकी छिन्।

‘जुम्बा र एरोबिक्स फिजिकल फिट्नेसका लागि धेरै राम्रो र फाइदाजनक छ’, उनी थप्छिन्। सातामा एक दिन भने उनी जिम र स्टिम बाथ लिने गर्छिन्। जिममा साइक्लिङ र अरू व्यायाम गरिन्छ। स्टिम बाथले आनन्द र अनावश्यक बोसो हटाउन मद्दत गर्दछ। साताको एक दिन स्टिम बाथ लिँदा चिसोबाट टाढा, छाला नरम र सफा हुन्छ।

विशेषगरी गृहिणीका लागि भने जुम्बा क्लास नयाँ साथी बनाउने र गफ गरेर रमाउने ठाउँ पनि बनेको छ। जिम गर्दा शरीर हेभी हुने र शरीर बिग्रने भन्ने धारणा भने गलत हो। स्वस्थ र फुर्तिलो शरीरसँगै नयाँ साथी पाएकोमा सरिता खुसी छिन्। जुम्बा सजिलो र एरोबिक्स निकै गाह्रो छ तर पनि आफ्नो शरीरमा आएको परिवर्तन देख्दा मनमा अलगै खुसी हुन्छ, उनी थप्छिन्। ऐना हेरेर नाच्ने र जिममा नयाँ अनुभव गर्दै ६६ बाट उनले आफ्नो तौल ६० मा झारेकी छिन्। विभिन्न टेक्नोलोजीको आविष्कारसँगै मानिसको जीवन पनि सरल बन्दै गएको छ। जिममा पनि नयाँनयाँ उपकरण भित्रिएको पाइन्छ। व्यायाम गर्ने नयाँ तरिका र उपकरणहरुको विकास भएको छ।

मोनिका महर्जन भन्छिन्, ‘मोटोेपनाकै कारण सबैमा विभिन्न किसिमको रोग लागेको छ।’ मोटोपनलाई कम गर्न सकियो भने पनि धेरै रोग निवारण गर्न सकिन्छ। यस कारण पनि आजकल व्यायाममा महिला सहभागिता बढेको हो। मोटोपन घटाउन, शरीरलाई फूर्तिलो बनाउन, स्वस्थ रहन, वडी सेप बनाउन, आत्मबल वढाउन जस्ता उद्देश्य लिएर मानिस जिम जाने गर्छन्।

तर जिम वा जुम्बा गरेको केही समयमै वडी सेप बन्ने र छिटो फिट नदेख्ने पाटन जिमका प्रशिक्षक बताउँछन्। उनी भन्छन्, ‘सबै व्यक्तिहरु आ–आफ्नो उद्देश्य बोकेर जिम, जुम्बा सेन्टर आउँछन्। तर तीमध्ये केहीले मात्र आफ्नो उद्देश्य पूरा गर्न सफल हुन्छन्।’ 

विश्व शारीरिक सुगठन प्रतियोगितामा पदक विजेता ननिता महर्जनका अनुसार महिलामा जुम्बा एक सफ्ट व्यायामका रुपमा चर्चित छ। उनी भन्छिन्, ‘व्यायाम वा जिम मात्र गर्दा नैराश्य पैदा हुन्छ। तर जुम्बा र एरोबिक्स यस्तो व्यायाम हो जसमा संगीतसँगै नाच हुन्छ।’ 

नाच्ने भन्दैमा मनपरी नाच्न भने मिल्दैन। जुम्बाको हरेक पाइलामा व्यायामको स्टेप हुन्छ। बिना प्रशिक्षक जुम्बा र एरोबिक्स सम्भव हुँदैन। नाचले सबैको तनाव हटाउँछ र दिमाग शान्त र मनोरञ्जन प्रदान गर्छ। मनोरञ्जनकै लागि पनि आजको समयमा जुम्बा डान्स महिलाले धेरै रुचाएको पाइन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।