काठमाडौं - भृकुटीमण्डपमा शुक्रबारदेखि पुष्प मेला सुरु भएको छ। मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले एक समारोहकाबीच मेलाको उद्घाटन गरिन्।
कृषि क्षेत्रमा युवाको आर्कषण बढाउनुपर्नेमा जोड दिँदै उनले पुष्प व्यावसायको प्रवद्र्धन गरेर आत्मनिर्भर बन्नुपर्ने बताएकी थिइन्। समारोहमा पत्रकार, पुष्प व्यवसायी, नर्सरी सञ्चालक तथा किसानलाई सम्मान गरिएको थियो।
मेलामा मौसमी फूल, आलंकारीक बोट विरुवा, कट फ्लावर, ट्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादी गरी ८४ बिक्री कक्ष छन्।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित शुरु भएको सो मेलामा ५० लाख व्यक्तिले अवलोकन तथा रु ६० लाखको आर्थिक कारोवार हुने अनुमान आयोजकको छ। मेला यही चैत १० गतेसम्म चल्ने छ।
