बिहीबार, चैत १२, २०८२

के हो मेनिया र कसरी बच्‍ने ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मेनिया भनेको उत्तेजना हो। यो कडा मानसिक रोग हो। यसलाई मुड डिसअर्डर र उन्माद पनि भनिन्छ। प्रकृतिले रुप फेरेजस्तै मानिसको मुडमा पनि परिवर्तन आउँछ। सधैं एकनासको रहने शक्ति न प्रकृतिमा हुन्छ न त मानिसमै।

डिप्रेसन निराशा हो भने मेनिया त्यसको ठिक उल्टो हो। मेनिया भएको व्यक्तिको आत्मबल बलियो र उत्तेजित हुन्छ। प्रकृतिमा हुने उत्तारचढावजस्तै मानिसको जीवनमा आउने उथलपुथललाई मेनिया भन्न सकिन्छ। व्यक्तिको व्यवहारमा असामान्य परिवर्तन आउने र त्यसको असर उसको व्यवहार, सोच, निद्रा र समाज वा अरु मानिसमा पर्ने गर्छ। एकदमै खुसी हुने, कुरा बढी गर्ने, सानो कुरामा झर्किने, उनको कुरा नमान्दा रिसाउने, शंका गर्ने र आफूमा संसार जित्ने आत्मविश्वास छ भन्ने जस्ता प्रवृत्ति देखाउने गर्छन्। अव्यवहारिक हुने, मात्र २ देखि ३ घन्टाको निद्रा पनि पर्याप्त हुने, हेर्दा पनि व्यस्त र फूर्तिलो देखिने, अनेक योजना सुनाएर मख्ख पार्ने, अरुलाई समस्या पर्दा मद्दत गर्ने, पैसा सापटी दिने, शंका गर्ने जस्ता व्यवहार मेनियाका बिरामीले देखाउँछन्। पूरै नहुने खालका योजना बनाउने र त्यसैमा लागिपर्ने र समय बिताउने, वढी ठूला गफ दिने जस्ता असामान्य क्रियाकलाप गरेर सताउने हुन्छन्।

कुल जनसंख्याको बढीमा एक प्रतिशत र .५ प्रतिशतलाई मेनिया हुने गर्छ। महिला वा पुरुष जोसुकैलाई पनि हुन सक्छ र यसको समाधान गर्न सकिन्छ। नेपालमा मेनियाका बिरामी कति छन् भन्ने तथ्याङ्क भने सार्वजनिक हुन सकेको छैन। कडा खालको मानसिक समस्यामध्ये एक मेनिया हो। महिला वा पुरुष दुवैलाई हुने मेनिया समयअनुसार आफैं ठिक पनि हुन्छ। 

२० देखि २५ वर्षको उमेरमा सुरु भई ५० वर्षको उमेरसम्म मात्र मेनियाले छोड्न सक्छ। यो मानसिक समस्या जुनसुकै अवस्था र उमेरमा सुरु हुन सक्छ। यो रोग विशेषगरी किशोरकिशोरी उमेरमा देखा पर्दछ। एकपल्ट मेनिया लागिसकेका बिरामी ठिक भएमा पनि ८० प्रतिशत पुनः फर्किने सम्भावना हुन्छ। सामान्य खालको मेनिया हो भने ६ महिनादेखि ३ वर्षको अवधिमा निको हुन्छ। र, फेरि फर्किने सम्भावना पनि उत्तिकै हुन्छ। 

मेनिया कसरी हुन्छ ?

दिमागमा असन्तुलित रसायनको मात्रा बढी भएमा,
कुनै घटनाले व्यक्तिको मन वा दिमागमा पारेको नकारात्मक असरका कारण,
कुनै पनि प्रकारको मानसिक दबाबका कारण

यी हुन् मेनियाका लक्षण ?

बिना कारण हास्ने, बोल्ने, नाच्ने र गीत गाउने वा कराउने
आफैंमा सीमित योजना बनाउने
धैर्य गर्न नसक्ने र अव्यवहारिक बानी देखाउने
यौन चाहना बढ्ने
नजानी–नजानी अंग्रेजी बोल्ने प्रयास गर्ने

मनोविद् गोपाल ढकालका अनुसार मेनिया मुडमा आउने गडबडी हो । यसलाई भावनात्मक गडबडी पनि भन्न सकिन्छ। डिप्रेसन र मेनिया दुवै मानसिक रोग हुन्। कडा मानसिक रोग भएका कारण मानिसको जीवन नै अस्तव्यस्त हुनेगर्छ। उनी भन्छन्, ‘आफूले आफूलाई राजा, सम्राट् वा माता सम्झिनेहरु सबै मेनियाका रोगी हुन्।’ मेनिया हाइपर र हाइपो मेनिया गरी धेरै प्रकारका छन्। जस्तै हाइपो मेनिया भएका बिरामीले भने माता चढेको, भगवान्ले दर्शन दिए, शृंगार गर्ने, धर्म र राजनीतिक कुरा बढी गर्ने जस्ता प्रवृत्ति देखाउने गर्छन्। गाउँघरमा भन्ने चलन पनि छ कि 'औंसीपुर्ने लाग्यो।' जुन यसैलाई भनिन्छ। मनोवैज्ञानिक भाषामा यसलाई ‘बाइपोलर मुड डिस अर्डर’ भनिन्छ। कसैलाई मेनिया मात्र हुने र कसैलाई डिप्रेसन मात्र हुन्छ भने कतिपयलाई मेनिया डिप्रेसन हुन्छ।

झट्ट हेर्दा राम्रो र निरोगी देखिने व्यक्तिमा मेनिया लागेको छ भन्ने कसैले पनि विश्वास गर्न सक्दैन। तर उनले गर्ने व्यवहार बुझ्दै जाने हो भने मेनिया भएको बुझिन्छ। ढकाल भन्छन्, ‘समाजमा बलात्कारका घटना वढ्नुको मुख्य कारण एक मेनिया पनि हो। किनकि मेनियाका रोगीहरुमा यौनचाहना निकै बढी हुन्छ।’ बलात्कारी पनि मेनिया रोगी हुुन सक्छ भन्ने कसैको पनि मानसपटलमा आउँदैन। यसैगरी मेनिया भएका पुरुषमा भने अत्यधिक जाँडरक्सी खाने, जुवातास खेल्ने, बिनानाफा पैसा लगानी गर्ने स्वभावका हुन्छन्। उनीहरूको पैसा फस्ने सम्भावना धेरै हुन्छ। जीव रसायनमा गडबडी हुँदा, तनाव, टाउकोमा चोटपटक लाग्दा, ट्युमर जस्ता कारणले मेनिया लाग्न सक्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्