काठमाडौं- काठमडौं उपत्यकाका विभिन्न क्षेत्रमा हिमपात भएको छ। बुधबार दिउँसोदेखि भएको वर्षासँगै बिहीबार बिहान हिमपात भएको हो ।
काठमाडौं नजिकै रहेका साना तिना डाडाहरुसमेत हिउँले ढाकिएका छन् । भक्तपुरको केहि स्थानमा तल्लो क्षेत्रमा समेत हिउँ परेको छ । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात भएको छ ।
भक्तपुर, मध्यपुरथिमि, चाँगुनरायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । हिउँले काठमाडौं उपत्यकाका डाडाहरु सेताम्मे देखिएका छन् ।
उपत्यकाका काठमाडौँ र ललितपुरमा समेत हिमपात भएको छ । हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन् । शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका छन् ।
काठमाडौं उपत्यका भित्रै १३ वर्षपछि यसरी हिउँ परेको हो । यसअघि २०६२ फागुनमा हिमपात भएको थियो । यो वर्ष चन्द्रागिरी, फूलचोकी डाडा, शिवगिरी डाडा क्षेत्रमा पटक पटक हिउ पर्दै आएको थियो ।
