शनिबार, साउन १६, २०८३

किसानको 'पसिना हत्या' : ४ रुपैयाँको काउली बजारमा ४०

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- फरक विषयको रिपोर्टिङ गर्न काभ्रेको मन्डन देउपुरबाट फर्किंदै गर्दा हाम्रो नजर जैसीथोकस्थित ढकमक्क फुलेका काउलीतर्फ सोझियो । मनमोहक लाग्ने काउलीखेतीमा काम गर्दै गरेका किसानसँग दुईवटा काउली काटन आग्रह गर्‍यो । किसानले हामीले भनेकै काउली काटेर झोलामा हालिदिए । लगभग पाँच केजी काउलीको पैसा दिँदा किसानले लिन मानेनन् । 

'काउली राम्रो लागेर पो लैजान खोजेको, तपाईंको मेहनत सित्तैंमा कसरी लानु ? पैसा लिनुस्' भन्दा उनले 'पर्दैन जानोस्' भने । हामीले 'हैन, पैसा त लिनुस् नत्र हामी काउली लाँदैनौं' भन्दा उनी झोक्किए, 'त्यो पूरै लैजानोस् कुनै पैसा पर्दैन ।' बजार लान तयार गरिएका अन्दाजी २०–२५ केजी काउलीको झोला नै सित्तैंमा लैजान भनेपछि हामी आश्र्चयमा पर्‍यौं र यसको कारण खोतल्ने प्रयास गर्‍यौं ।

गत बिहीबार काभ्रे जैसीथोकका किसान यज्ञप्रसाद न्यौपाने भोगेको यथार्थ हो यो । विगत १२ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका यज्ञप्रसादले भने, 'यो काउलीको मूल्य प्रतिकेजी चार रुपैयाँ पनि पर्दैन। कालीमाटीमा ठेकेदारलाई बुझाउने हो नबिके खोलामा फालिदिन्छ, एक रुपैयाँ पनि आउँदैन प्याकिङ गर्ने झोलाको १५ रुपैयाँ पर्छ । त्यो झोलाको पैसा आए भने पनि ठूलो कुरा हुन्छ ।' 

भोलिपल्ट महाराजगन्जको एक तरकारी होलसेल पसलमा काउली प्रतिकेजी ४० रुपैयाँमा बिक्री भइरहेको थियो । बिउको मलको मूल्य दसौं  गुणाले बढेको छ । उनी भन्छन्, 'त्यो पनि ठिक छ तर कृषि सामग्री संस्थानले बिक्री गर्ने बिउ र मलको गुणस्तरमा एकरुपता छैन ।'

कतिपय समयमा कम गुणस्तर र नक्कली बिउ र मल परेका कारण बाली रित्तै होला भन्ने चिन्ता रहेको उनी बताउँछन् । उनी भन्छन्, 'मलाई त शंका छ त्यो बिउ र मल पनि बिचौलियाले कतिबेला नक्कली दिने हुन् र आफ्नो खेत बाँझै हुन्छ ।'

यज्ञप्रसादका दुई छोरा र दुई छोरी छन् । दई छोरीको विवाह भइसकेको छ भने जेठा छोरा २९ वर्षीय सरोज न्यौपाने अपाङ्ग छन् । उनले खेती किसानीसँगै छोराको समेत रेखदेख गर्नुपर्छ । कान्छा छोरा सबिन न्यौपानेले १२ कक्षा पास गरे । रोजगारी नपाएपछि उनी अहिले बुबाको कृषि पेसालाई सघाइरहेका छन् ।

काठमाडौंबाट ६५ किलो मिटर टाढा जैसीथोक पुग्न सवारीसाधनको सहज पहुँच छ । तर किसानले भोग्नुपरेको समस्या र उत्पादित कृषि उपजको भाउ कहालीलाग्दो छ ।

यसरी मारिन्छ कृषकको श्रम

विगत १२ वर्षदेखि व्यावसायिक कृषि पेसामा लागेका यज्ञप्रसादको यो व्यवसाय कुनै चिट्ठा वा जुवाभन्दा कम छैन । उनले भने, 'हामीले उत्पादन गरेको सब्जी तरकारी काठमाडौं पुर्‍याई ठेकेदारको जिम्मा लगाउनुपर्छ ।' ठेकेदारले किसानको सामान खरिद गर्छ र व्यापारीलाई बेच्छ । ठेकेदारबिना न त कृषकले सामान बेच्न पाउँछ न त व्यापारी र उपभोक्ताले खरिद गर्न । ठेकेदारको मनोमानी व्यापारले कृषकको समानले भाउ पाउँदैन र उपभोक्ता चर्को मूल्यमा खरिद गर्न बाध्य हुन्छन् । 

कालीमाटी तरकारी तथा फलफूल बजारमा कुनै कारण तरकारी नबिके त्यसको नोक्सान ठेकेदारले नभई कृषकले भोग्नुपर्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा ४४२ वटा स्टल छन् । तीमध्ये थोकको ३७६ वटा र खुद्राको ६६ वटा स्टल छन् । केही समयअघि उपभोक्ता संरक्षण मञ्चले तरकारीमा यातायात क्षेत्रको भन्दा डरलाग्दो सिन्डिकेट रहेको तथ्य सार्वजनिक गरेको थियो । किसानदेखि उपभोक्तासम्म तरकारी आइपुग्न सात तहको बिचौलिया पार गर्नुपर्ने मञ्चको अध्ययनमा उल्लेख छ । बिचौलियाकै कारण अहिले तरकारीको मूल्य चारदेखि १० गुणा बढी पर्ने गरेको छ ।

काभ्रेको पाँचखालमा प्रतिकिलो १० रुपैयाँ पर्ने काउली काठमाडौं आइपुग्दा ८० रुपैयाँ पर्छ । सर्लाहीको लालबन्दीमा ६ रुपैयाँ पर्ने गरेको गोलभेडा काठमाडौंमा प्रतिकिलो ४० रुपैयाँ पर्ने गरेको छ ।

अध्ययनअनुसार किसानदेखि उपभोक्तासम्म आइपुग्दा प्रतिकिलो ४० रुपैयाँ पर्ने तरकारी दुई सय रुपैयाँ पर्ने गरेको छ । कालिमाटीमा रहेको तरकारी स्टलको ५ हजार ५ सय रुपैयाँ रहेको भाडा सिन्डिकेटको कारण २५/३० हजारदेखि डेढ लाखसम्म बुझाउन पर्ने परिस्थिति छ ।  वास्तविक स्टल हुने व्यक्ति पाउन सकिन्न । एकले अर्कोलाई, अर्कोले अर्कोलाई गरी ४ र ५ जनाले एउटै स्टललाई दलाल गर्दै भाडामा लगाउने गरेका छन् ।

अनुगमन टोली नै बिचौलियाको बन्धकमा

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारले नै बिचौलियालाई संरक्षण गरेको आरोप लगाए । उनले भने, 'कालीमाटी तरकारी बजारलगायत उपत्यकाका तरकारी बजार र उत्पादन गर्ने किसानको विषयमा हामीले अनुगमन गरेका थियौं ।' 

वाणिज्य विभागका अधिकारीसहितको टोलीले उपत्यका भित्रिने तरकारी उत्पादन गर्ने काभ्रे, धादिङ, नुवाकोट र मकवानपुरको बजारमा पनि अनुगमन गरेको थियो । 'त्यसपछि बिहान ३ बजे नै कालीमाटी पुगेर बिचौलियाले कसरी काम गर्छन् भन्ने विषयमा अनुगमन गर्‍यौं । तर बिचौलियाले हामीलाई कालीमाटी तरकारीबजारमै बन्धक बनाए ।' प्रहरी प्रशासनको रोहबरमा अनुगमन टोलीलाई मुक्त गरिएको थियो । 

घटनाका सम्बन्धमा छानबिन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालीमाटी तरकारी तथा फलफूल बजारका अध्यक्ष तथा आपूर्ति मन्त्रालयका सहसचिव तेजप्रकाश सुवेदीको संयोजकत्वमा समिति गठन गर्‍यो । तिमल्सिनाका अनुसार समितिले उल्टै बिचौलियालाई संरक्षण गर्ने काम गरिरहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।