धनगढी- डडेल्धुरामा घरमा आगलागी हुदा एक बालिकाको ज्यान गएको छ भने एक बालिका गम्भीर घाईते भएकी छिन् ।
आलिताल गाउँपालिका–८ मा मंगलबार आगलागी हुँदा ८ बर्षीया आरती थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
राति करिब ८ बजे आलितालको घुम्ती बजारमा रहेको उत्तम थापाको किराना पसलबाट आगलागी हुँदा उनको छोरी आरती थापाको मृत्यु भएको र जेठी छोरी ११ वर्षीया निरुता थापा गम्भीर घाइते भएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए । गम्भीर घाइते निरुतालाई उपचारको लागि धनगढी लगिएको छ।
उत्तम थापाको किराना पसलबाट लागेको आगो रामबहादुर धामी, दिलबहादुर रानाको घरमा समेत सल्किएर आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
उनका अनुसार थापाकी २ छोरी मैनबत्ती बालेर किताब पढिरहेको बेला मैनबत्ती सकिएर नजिकै रहेको चाउचाउको पेटीबाट आगो लागेर एक छोरी घाइते अवस्थामा आफैं घर बाहिर आएपछि घरपरिवारले जानकारी पाएको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४