काठमाडौं – सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर अमेरिकी सरकारसँग करिब एक अर्ब मूल्यका हतियार खरिद गर्ने तयारी गरेको छ। एकमुष्ठ रकम उपलब्ध गराउन ऐन बाधक देखिएपछि सरकारले यसलाई संशोधन गर्ने तयारी गरेको हो।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हतियार किन्ने योजनामा सार्वजनिक खरिद ऐन बाधक देखिएकोले त्यसलाई संशोधन गर्न लागिएको बताए। मंगलबार रक्षा मन्त्रालयमा केही संचारकर्मीहरुसँगको भेटमा पोखरेलले भने, सेनालाई हतियार आवश्यक छ। अब ऐन संशोधन गरेर हतियार खरिद गरिन्छ।
जंगीअड्डाको प्रस्तावअनुसार अमेरिकी सरकारसँग सिधै वार्ता गरेर जीटुजी प्रक्रियाबाट करिब छ हजार थान एम -१६ हतियार लिनका लागि रक्षा मन्त्रालयले करिब एक वर्ष अघि नै प्रक्रिया अघि बढाएको थियो। तर खरिद ऐनका कारण हतियार खरिद गर्ने सरकारको योजना अलपत्र पर्दै आएको थियो।
जीटुजी प्रक्रियाबाट हतियार ल्याउँदा अमेरिकी सरकारले एक मुष्ठ रकम भुक्तानी गर्नुपर्ने शर्त राखेको छ। खरिद ऐनमा किस्ताबन्दीमा रकम उपलब्ध गराउनुपर्ने व्यवस्था छ। खरिद प्रक्रियालाई अझ् पारदर्शी र स्वच्छ बनाउन ठूलो खरिदमा किस्ताबन्दीमा रकम उपलब्ध गराउनुपर्ने प्रावधान राखिए पनि अहिले त्यो वाधक देखिएको छ।पोखरेलले सेनाको आधुनिकीकरणका लागि हतियार किन्न लागिएको बताए।
सेनासँग रहेका बीस वर्षभन्दा पुराना हतियारलाई विस्थापित गर्नका लागि जिटुजी प्रक्रियाबाट आधुनिक खरिद लागिएको हो। यो प्रक्रिया अनुसार अमेरिकाले करिब साढे ६ हजार थान अत्याधुनिक राइफल नेपाललाई उपब्ध गराउन अमेरिकी सरकार सहमत भइसकेको छ।
अमेरिकी सेनाले प्रयोग गर्दै आएको एम-१६ विश्वका धेरै देशका सेनाहरुले प्रयोग गर्दै आएका छन्। कम तौलको यो हतियार मार हान्नलाई प्रभावकारी मानिन्छ। यसले २७ सय मिटरसम्म प्रहार गर्न सकिन्छ। माओवादीसँग लड्ने क्रममा अमेरिकाले सैन्य सहायता अन्तर्गत यो हतियार उपलब्ध गराएको थियो।
सेनामा सुधारका थुप्रै काम
नेपाली सेना भित्र धेरै सुधारको काम भएको दावी उनले गरे। उनले शान्ति सेना मिसनमा छनोट प्रक्रियालाई थप पारदर्शी र वैज्ञानिक बनाइएको बताउँदै भने, अब सबैले समान रुपमा अवसर पाउने अवस्था बनेको छ।
सेना जहिले पनि विधि र सरकारको निर्देशनमा चलेको भन्दै योजना निर्माणमा सेनाले ठेक्कापट्टा लिएको नभई सरकारको निर्देशन पालना गरेको बताए। पोखरेलले सेनाले जिम्मा लिएका निर्माण योजनाहरु चाँडै सक्नेगरी काम भइरहेको बताए।
पोखरेलले यस अघि सेनामा रहेको फास्टट्रयाक प्रमोशनले चेन अफ कमाण्ड बिगार्ने भन्दै त्यसलाई अन्त गरेको बताए। उनले बिशेष योगदान बाहेकका त्यस्तो प्रमोशन बन्द गरिएको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४