काठमाडाैं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको कान्तिपुर दैनिकले ९० करोडको अनियमितता लुकाउन नेपाल इन्जिनियरिङ कलेजका पदाधिकारीले अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस खुवाएको विषयलाई मुख्य समाचार बनाएको छ ।
कलेजका लम्बोदर न्यौपानेले मात्रै ८ करोड ५८ लाख लेखा रेकर्डमा रहने गरी र ४ करोड ७४ लाख लेखा प्रणालीमा नदेखिने गरि लिएको समाचारमा उल्लेख छ । जुन अनियमितता लुकाउन अख्तियारका तत्कालिन आयुक्त पाठकलाई उनकै समुहले ७८ लाख घुस खुवाएको थियो ।
यस्तै कान्तिपुरले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्रदेश ५ का सबै स्थानीय तहमा चन्दा आतंक फैलाएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । विप्लव समुहले सबै गाउँपलिका र नगरपालिकालाई विकास बजेटको २ प्रतिशत रकम उपलब्ध गराउन दबाब दिएको समाचारमा उल्लेख छ ।
आजको नागरिक दैनिकले भने मुलुकको आन्तरिक सुरक्षासँग सम्बन्धीत सुचना उपलब्ध गराउने जासुसी संयन्त्र कमजोर बनेको र कांग्रेसमा गुट बलियो बनाउने होड चलेको विषयलाई मुख्य समाचार बनाएको छ ।
नयाँ पत्रिकाले पार्टी कार्यालयमै नेविसंघका कार्यकर्ताबीच कुटाकुट हुँदा कांग्रेस नेताहरु मौन बसेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले मुक्त कमैया र हलिया पुनस्र्थापनामा ५ अर्ब ३३ करोड सकिए पनि समस्या उस्तै रहेको विषयलाई पनि प्राथमिकतामा पारेको छ।
टेस्टट्युब बेबी भए पनि बाबु वैवाहिक शीर्षकमा एङ्कर न्यूज लेखेको आजको अन्नपूर्ण पोस्ट्ले अड्डामा अन्नपूर्ण अभियान अन्तर्गत जनकपुर यातायात कार्यालयको अवस्थालाई मुख्य समाचार बनाएको छ । उसले जहाँ लाइसेन्स किन्न पाइन्छ शीर्षकमा खबर छापेको छ । उसले बैशाखदेखि तातोपानी नाका खुल्ने विषयलाई पनि महत्वका साथ छापेको छ ।
पाठकलाई घूस ९० करोडको अनियमितता लुकाउन
आजको कान्तिपुरमा प्रकाशित समाचारअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घूस खुवाएको आरोप लागेका लम्बोदर न्यौपानेको नेतृत्वकालमा नेपाल इन्जिनियरिङ कलेजमा नियमविपरीत खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ ।
कलेजको अनियमितताबारे भएको 'अनुसन्धानमूलक लेखापरीक्षण' मा विभिन्न व्यक्तिका नाममा नियमविपरीत भुक्तानी २३ करोड १० लाख, नियमविपरीत थप खर्च ३३ करोड ७६ लाख र स्रोत नखुलेको बचत ३१ करोड ८६ लाखसमेत गरी ९० करोड ७२ लाख रुपैयाँ अनियमिता देखिएको हो ।
'जी पौड्याल एन्ड एसोसिएट्स' नामक चार्टर्ड एकाउन्टेन्सी र्फमले गरेको लेखापरीक्षणबाट विभिन्न व्यक्तिका नाममा २३ करोड १० लाख २३ हजार रुपैयाँ अनियमित रूपमा भुक्तानी भएको भेटिएको हो । त्यसक्रममा कलेजको लेखा प्रणालीको दायरा नाघेर खर्च गरेको समेत भेटिएको कान्तिपुरलाई प्राप्त लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।
कलेज सञ्चालक तथा अन्य पदाधिकारीले गरेको ३३ करोड ७६ लाख ७३ हजार ४९ रुपैयाँ खर्चलाई पनि लेखापरीक्षणले गैरकानुनी ठहर्याएको छ । त्यसबाहेक विद्यार्थीको धरौटी फिर्ता गरेको भनी २ करोड २२ हजार ५ सय १५ रुपैयाँ खर्च देखाइएको छ ।
कलेज खातामा स्रोत नखुलेको ३१ करोड ८६ लाख ४९ हजार १ सय ६८ रुपैयाँसमेत जम्मा भएको देखिएको छ । कलेजका सञ्चालकहरूले अनियमित रूपमा भुक्तानी गरी निकाल्ने तयारीमा रहेको उक्त रकम विवादपछि रोकिएको थियो ।
शिथिल जासुसी संयन्त्र
आजको नागरिकमा प्रकाशित समाचारअनुसार सरकारलाई आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना उपलब्ध गराउने जासुसी संयन्त्र कमजोर देखिएका छन्। आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट परिचालित हुने जासुसी संयन्त्र कमजोर देखिएका हुन्।
आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न सेनाको मेजर जनरलको नेतृत्वमा सैनिक विनय महानिर्देशनालय (डिजिएमआई), नेपाल प्रहरीको विशेष ब्युरो, सशस्त्र प्रहरीको विशेष संयन्त्र र राष्ट्रिय अनुसन्धान विभागको संयन्त्र परिचालन हुन्छन्।
नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह, सिके राउत र अन्य सशस्त्र भूमिगत समूहले देशभित्र गर्ने गतिविधिका बारेमा समयमै सूचना संकलन हुन नसकेको देखिएको छ। पछिल्लो समयमा विप्लव समूहका गतिविधि बढेका छन्। सो समूहले देशभर आतंक फैलाउनेमात्रै नभई ज्यानै जानेगरी बम विस्फोटसमेत गराएको छ। सो समूहका कारण शुक्रबार साँझ एक व्यक्तिको ज्यान गएको छ भने मुलुकका विभिन्न भागमा रहेका एनसेल टावर ध्वस्त भएका छन्।
काठमाडौंलगायतका विभिन्न भागमा सो समूहले आतंक फैलाउन सक्ने जानकारी प्रहरीको कुनै एक युनिटले पाएको भए पनि त्यसलाई विशेष ब्युरोले ध्यान दिएन। यो विषयमा प्रहरी प्रधान कार्यालयले कुनै प्रतिक्रिया जनाएको छैन।
पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा कांग्रेस नेता मौन
कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे । झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुप-यो । तर, केन्द्रीय समिति बैठक बस्ने तयारीमा रहेका माउ पार्टीका नेताहरू दोस्रो तलाबाट रमिता हेरेर मात्रै बसे । झगडा मिलाउन आँगनमा झर्ने आँटसमेत गरेनन् ।
झडप शान्त भएपछि नेविसंघका नेता–कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइयो । तर, त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा आँगनमै मच्चिएको ताण्डवबारे छलफलसमेत भएन । बोल्न खोज्ने नेताहरूलाई पनि सभापति शेरबहादुर देउवाले रुलिङ गरेर बस्न लगाए । सभापति देउवा र कृष्ण सिटौला पक्षका विद्यार्थीबीच झडप भएको थियो ।
आजको नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार पार्टीका भावी नेताहरूको यस्तो अराजकताबारे कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफल गरेको छैन र त्यसपछि पनि मुख खोलेको छैन । घटनाको छानबिन र दोषीलाई कारबाही गर्ने औपचारिकतासमेत पार्टीले देखाएको छैन । नेविसंघ १२ महाधिवेशनको पर्खाइमा छ ।
अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल र थप गरिएको पाँच महिनाभित्रसमेत महाधिवेशन गर्न सकेनन् । त्यसैले उनले राजीनामा दिए । तर, महरले राजीनामा दिएको १५ दिनपछि पनि तदर्थ समिति गठन नभएपछि नेविसंघमा नेतृत्वविहीनता र अराजकता बढेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४