काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फागुनमा नहुने भएको छ।
फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको छ। त्रिविले फागुनमा निर्वाचन गर्ने तयारी गरे पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालेको हो। वि.सं. २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भएको थियो।
त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचनको तयारी गर्नुपर्ने भएकाले फागुनमा नै स्ववियु निर्वाचन गर्न नसकिने बताए। उनले सबै विद्यार्थी सङ्गठनलाई निर्वाचनमा सहभागी गराउने गरी चैतमा निर्वाचन गर्ने बताए। उनले कुनै सङ्कायको परीक्षा नपर्ने गरी चाँडै नै कार्यतालिका सार्वजनिक गर्ने बताए। त्रिविले अहिले सवै डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयसँग परीक्षाको कार्यतालिका माग गरेको छ।
‘हामीले सबै डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा छलफल गरी परीक्षाको कार्यतालिका माग गरेका छौँ’, उनले भने, ‘परीक्षाको कार्यतालिका हेरेर कसैको परीक्षा नपर्ने गरी हामीले निर्वाचनको कार्यातालिका प्रकाशित गर्छौँ।’ त्रिविले यसअघि सबै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ। त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त गरी करीब एक हजार क्याम्पसमा स्ववियु निर्वाचन हुने गरेको छ। दुई/दुई वर्षमा गरिने निर्वाचन २०६५ यता त्रिविमा विद्यार्थी सङ्गठनका कारणले पूर्णरूपमा हुन सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४