जनकपुरधाम – विचार–विमर्श, छलफल र संवाद मिथिलाको पुरानो परम्परा मानिन्छ। राजा जनक मिथिलाको राजा हुँदा समस्या परेको बखत विद्धानहरु बोलाएर विचार विमर्शबाट निक्र्यौल निकाल्ने गर्दथे विश्वास अझै कायम छ, मिथिला क्षेत्रमा। राज्यमा कुनै समस्या आइपर्दा मिथिलाका तत्कालीन राजा जनकले यहाँका गार्गी, अष्टाबक्रजस्ता विद्धानहरुसँग सल्लाह र छलफल गरेर समाधान खोज्ने गर्दथे।
अहिले प्रदेश २ मा प्रदेशको नामाकरण, राजधानी र भाषासम्बन्धी विवाद बल्झिएको छ। प्रदेश सरकार कार्यान्वयनमा आएको एक वर्ष बितिसक्दा समेत यससम्बन्धी प्रस्ताव प्रदेशसभामा आउन सकेको छैन्। यसका साथै प्रदेशको आर्थिक समृद्धि, सामाजिक रुपान्तरण, महिला सशक्तिकरणजस्ता विषयहरुपनि जल्दोबल्दो समस्याको रुपमा देखिएको छ, प्रदेश २ मा।
विभित्र समस्याबाट प्रदेश २ गुज्रिरहेको बेला जनकपुरमा ‘जनकपुर साहित्य–कला एवं अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ आयोजना हुन लागेको छ। फाल्गुन १८ देखि २३ गतेसम्म चल्ने महोत्सवमा नेपाल तथा भारतका एक दर्जनभन्दा बढी विद्धानहरु सहभागी भइरहेका छन्।
मैथिली विकास कोषले आयोजना गरेको ६ दिवसीय महोत्सवमा मैथिली भाषा, साहित्य, कलाका साथै नेपालका साथै अन्तर्राष्ट्रिय कलाकारहरुले नाटक मञ्चन गर्ने कार्यक्रम रहेको छ। यसका साथै महोत्सवमा सांस्कृतिक कार्यक्रम, लोककला, ललितकला, मिथिला भोजन एवं पुस्तक प्रदर्शनीसमेत गरिने कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए।
प्रदेश सरकार गठन भइसकेको बेला प्रदेशको नामाकरण, राजधानी र कामकाजी भाषालगायतका महत्वपूर्ण विषय निर्धारण हुन नसक्दा प्रदेश २ का नागरिक राजनीतिक, भाषिक, सांस्कृतिक र सामाजिक अन्तरद्धन्द्धबाट गुज्रिरहेकोले यस्ता विषयहरुमा गहन विमर्शको आवश्यक्ता महसुस गर्दै कोषले महोत्सवको आयोजना गरेको अध्यक्ष चौधरीले जानकारी दिएका छन्।
छलफल र विमर्शबाट समस्या निराकरण गर्ने मिथिलाको परम्परा रहेको बताउँदै चौधरीले महोत्वसमा सहभागी हुने विद्धानहरुबाट अभिव्यक्त हुने विचारबाट ठुलो लाभ प्राप्त हुने विश्वास व्यक्त गरे।
जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा ६ दिनसम्म चल्ने महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको कोषका सदस्य सचिव श्यामसुन्दर शशीले जानकारी दिए। उद्घाटन सत्रमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेकपका घनश्याम भुसाल, रामचन्द्र झा, शत्रुध्न महतो, रामचन्द्र मण्डल, संघीय समाजवादी फोरमका रामसहाय यादव, राजपाका वृषेशचन्द्र लाललगायतका नेताहरु सहभागी हुने उनले बताए।
यसैगरी महोत्सवमा वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल,भाषा विद् डा.रामअवतार यादव, वरिष्ठ राजनीतिक विश्लेषक सीके लाल, डा.संजीव उप्रेती भारतका डा.रामानन्द झा, श्याम दलिहरे, अजित आजाद, कृष्लय कृष्णलगायतका व्यक्तिहरुले आ–आफ्नो विचार व्यक्त गर्ने बताइएको छ।
महोत्सवमा प्रदेशको सांस्कृतिक पहिचान र मिथिला, केन्द्रिकृत पत्रकारिता र मिथिला, मैथिली भाषामाथि जातीय विभाजनको प्रभाव, प्रदेशको भाषा र नामाकरण, मैथिली फिल्मको संभावना, मैथिली चित्रकला सिर्जन र व्यवस्थापन, नेपालमा मैथिली लेखनको अवस्थालगायतका विषयमा गम्भीर छलफल गरिने आयोजकले जनाएको छ।
महोत्सवमा जनकपुरको रामानन्द क्लब, मिथिला नाट्यकला परिषदका साथै अफगानिस्तान, काठमाण्डौंको लोकसंचार, बंगलादेश, भारतको असामबाट आएका कलाकारहरुले १० वटा नाटक मञ्चन गर्ने छन्। यसका साथै महोत्वसमा हरेक दिन सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुनेछ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४