काठमाडौं - नेकपाको पार्टी एकता टुंगो लगाउन गठित कार्यदल विघटन भएपछि नेकपाभित्रको किचलोले नयाँ मोड लिएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश गण्डकी प्रदेशका मुख्यमन्त्री र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल जोगाउन कार्यदल विघटन गरेका हुन्। कार्यदल विघटन गरिए पनि बहुमत सदस्यले आइतबार राति विवाद भएका मुख्य विषयसहित सांगठनिक एकीकरणको प्रस्ताव तयार पारेर बुझाएपछि यतिबेला अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल नैतिक संकटमा परेका छन्।
पार्टी एकीकरणमा शीर्ष नेताहरूले मापदण्डविपरीत आआफ्ना मान्छे राख्न खोजेको भन्दै विवाद भएपछि पुस १३ गते बसेको स्थायी समिति बैठकले कार्यदल गठन गरेको थियो। कार्यदललाई मापदण्ड तयार गरेर एकताको खाका तयार गर्न जिम्मेवारी दिइएको थियो।
नेकपा सचिवालयको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकले कार्यदल भंग गर्ने निर्णय गर्यो। बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटन प्रस्ताव गरेका थिए। कार्यदलमा आफू अल्पमतमा परेपछि ओलीले विघटना गर्न प्रस्ताव गरेका थिए।
संयोजक रामबहादुर थापा रहेको कार्यदल सदस्यहरूमा महासचिव विष्णु पौडेल, शंकर पोख्रेल, रघुवीर महासेठ, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र बेदुराम भुसाल थिए। यीमध्ये पोख्रेल, पौडेल र महासेठ ओली पक्षका हुन्।
असहमतिका बीच सचिवालय बैठकले कार्यदल विघटन गरेको हो। कार्यदल विघटन गर्ने विषयमा सचिवालय सदस्य तथा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमले असहमति जनाएका छन्। कार्यदल विघटन भएपछि पार्टी एकताको बाँकी काम सचिवालयले गर्ने र त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउने निर्णय भएको छ।
संयोजक बादलसहित सदस्यहरूले कार्यदलको म्याद थप गर्ने विषयमा सहमत थिए। कार्यदल विघटनपछि कार्यदलका बहुमत सदस्यहरूले अलगै प्रतिवेदन बुझाउने तयारी गरेका छन्।
कार्यदल विघटनलाई लिएर नेकपाभित्रको पद्धतिका विषयमा समेत प्रश्न उठेको छ। स्थायी समितिले गठन गरेको कार्यदल सचिवालयले कसरी विघटन गर्न सक्छ भन्दै निर्णय पद्धतिमाथि असन्तुष्ट नेताहरुले आपत्ति जनाएका छन्। कार्यदलका सदस्य लेखराज भट्टले आफूहरूले अध्यक्षलाई अलग्गै प्रतिवेदन बुझाउने जानकारी दिएका छन्। पार्टी विधानमा सचिवालयको निर्णय स्थायी समिति, स्थायी समितिको निर्णय केन्द्रीय समिति र केन्द्रीय समितिको निर्णय महाधिवेशनले अनुमोदन गर्ने व्यवस्था छ। कार्यदल विघटनाको निर्णय स्थायी समितिमा अनुमोदन गर्न नेतृत्वका लागि फलामको च्युरा चपाउनुसरह हुने एक नेताले बताए।
किन विघटन भयो कार्यदल
कार्यदलले एकीकरणका लागि एउटै व्यक्तिलाई मुख्य पदमा दोहोरो जिम्मेवारी दिन नहुने अवधारणा मस्यौदा तयार पारेको थियो। मस्यौदाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई झड्का दिएको थियो। यी दुवै आआफ्नो प्रदेशमा पार्टीका इन्चार्ज हुन्। यो कार्यदलको प्रतिवेदन त्यस्तो आएमा उनीहरूले मुख्यमन्त्री वा प्रदेश इन्चार्ज एक त्याग्नुपर्ने हुन्छ। यी दुवै नेताहरू अध्यक्ष ओली निकट मानिन्छन्। आफू निकटका नेताहरूको यस्तो अवस्था देख्न चाहँदैनथे प्रधानमन्त्री ओली। यी दुई नेताका लागि ओलीले कार्यदललाई नै बलि चढाए। पोखरेल र गुरुङ जोगाउन ओलीले कार्यदललाई नै विघटन गरेको एक नेताले बताए।
कार्यदल विघटनमा ओली–प्रचण्डको फरक धारणा
पार्टीभित्र एकीकरणका लागि कार्यदल गठन गर्ने पक्षमा थिएनन् प्रधानमन्त्री ओली। तर प्रचण्डको जोड बलमा बनेको थियो कार्यदल। कार्यदल गठन भएपछि नेकपाभित्र माधव नेपाल पक्षले समेत आशा राखेको थियो। पछिल्लो चरणमा ओली कार्यदललाई बाइपास गर्ने पक्षमा थिए। तर प्रचण्ड भने कार्यदलमार्फत नै एकीकरणको काम टुंगो लगाउने पक्षमा थिए। प्रचण्ड शनिबारको सचिवालय बैठकमा समेत कार्यदल विघटन गर्ने पक्षमा थिएनन्। उनी एक साता भए पनि कार्यदलको म्याद थपेर एकीकरणको काम टुंगो लगाउने पक्षमा थिए। तर ओलीको अडानमा कार्यदल विघटन भएको छ। यसमा प्रचण्डले खुलेर विरोध नगरे पनि ओली–प्रचण्डबीचको दुरी बढाएको एक नेताले बताए।
ओली र प्रचण्ड नैतिक संकटमा
नेकपा सचिवालयको कायदल विघटन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै विघटित कार्यदलका बहुमत सदस्यले नेतृत्वसमक्ष आइतबार साँझ प्रतिवेदन बुझाएका छन्। बहुमत सदस्यले बैठकमा विवाद भएका मुख्य विषयसहित सांगठनिक एकीकरणको प्रस्ताव तयार पारेर बुझाएपछि यतिबेला अध्यक्ष ओली र प्रचण्ड संकटमा परेका छन्।
अध्यक्षद्वय ओली र प्रचण्डलाई सम्बोधन गर्दै बुझाएको प्रतिवेदनमा कार्यदलले काम गर्न नसक्नुमा संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई जिम्मेवार ठानिएको छ। यसअघि कार्यदलका सदस्यले संयोजक थापा र महासचिव पौडेलले कार्यदललाई काम गर्न नदिएको आरोप लगाएका थिए।
नेकपाका नेता योगेश भट्टराईले पार्टी स्थायी कमिटीद्वारा गठन गरिएको संगठन एकीकरण सम्बन्धि कार्यदल र एकीकरणका बारेमा आफूहरुका धारणा तथा सुझाब अध्यक्ष तथा प्रम केपी शर्मा ओलीलाई बुझाएको बताएका छन्। ‘हामीले ७ पेज लामो लिखित धारणा प्रस्तुत गरेका छौ’, उनले भने, ‘त्यसमा अध्यक्ष ओलीले सकरात्मक धारणा राख्नु भएको छ।’
उनले पार्टीका अर्का अध्यक्ष प्रचन्डलाई आइतबार नै प्रतिवेदन बुझाइएको जानकारी दिए। प्रचण्डले पनि उत्साहजनक विचार राखेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४