बुटवल- बुटवलको अमरपथ स्थित प्रभु बैंकमा भिषण आगलागी भएको छ । तल्लो तलामा रहेको फेन्सी पसलबाट सुरुभएको आगो प्रभु बैंकको एटीएम, भैरव ब्याग हाउस र होटलमा क्षति पुगेको छ ।
आगलागीबाट एक करोड बराबरको क्षती भएको प्रहरीले जनाएको छ । राति करीव १० बजेदेखि लागेको आगो मध्यराति करीव १२ः३० मा मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
आगलागीबाट शङ्करप्लाजामा रहेको बिन्दवासिनी फेन्सीमा पूर्ण क्षति भएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिए । उक्त फेन्सीका सञ्चालकले राति पसल बन्द गरेको केही समयपछि उक्त पसलबाट नै आगलागी शुरु भएको प्रहरीको अनुमान छ ।
पसलमा रहेको विद्युत् लाइन सर्ट हुनाले आगलागी सोही पसलबाट शुरु भएको हो । बुटवल उपमहानगरपालिका, रामग्राम नगरपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दासमेतको प्रयासबाट आगलागी नियन्त्रणमा ल्याइएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४