काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
नयाँ पत्रिकाले नेपाल आयल निगम भित्र कर्मचारीलाई बोनस र सुविधा दिने नाममा भइरहेको लुटलाई मुख्य समाचार बनाएको छ।
उसले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई साबुनसम्मको सुविधा बाँड्दै आयल निगम शीर्षकमा खबर लेखेको छ । कर्मचारीको सुविधामा मात्रै ५० करोड खर्च गर्दै आएको निगमले यसपटक कर्मचारीलाई बोनस बाँड्न ३ अर्ब ६२ करोड छुट्याएर राखेको छ ।
नयाँ पत्रिकाले समाचारमा लेखेको छ- नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ ।
निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घरखर्चका लागि एक हजार, लुगा धुन दैनिक १५ रुपैयाँ बुझ्छन् । दैनिक खाजा खर्च एक सय रुपैयाँ पाउँछन् । विदेश भ्रमणका नाममा भारत जाँदा पाँच हजार र अन्य मुलुक जाँदा सात हजार लुगाभत्ता बुझ्छन् । बिमा, चाडबाड र उपचार खर्चको पनि छुट्टै व्यवस्था छ ।
सार्वजनिक संस्थानमध्ये सबैभन्दा आकर्षक तलबभत्ता निगमकै कर्मचारीले बुझ्छन् । निजामती कर्मचारीको तुलनामा उनीहरूको सुविधा कम्तिमा तेब्बरले बढी छ । यति धेरै तलब–भत्ता बुझे पनि अझै अपुग भएको भन्दै कर्मचारीले थप सुविधा माग गर्न थालेको समाचारमा उल्लेख छ ।
यस्तै नयाँ पत्रिकाले कांग्रेस बिधान बहुमतबाट पारित भएको र महासमितिविरुद्ध केन्द्रीय समिति गएको भन्दै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताहरुले नोटअफ डिसेन्ट लेखेको विषयलाई पनि महत्वका साथ छापेको छ ।
एनसेलमा भएको विस्फोटबारे गृहमन्त्री रामबहादुर थापाले दिएको अभिब्यक्तिलाई एङ्कर न्यूज बनाएको आजको कान्तिपुर दैनिकले संसद् सचिवालयले कानुन मिचेर वर्षेनी करोडौंको खरिद गर्ने गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।
टेन्डर प्रक्रियाबिनै सोझै आफू निकटकोलाई काम दिने गरेको र संसदका केहि कर्मचारीले लाभ लिने गरेको समाचारमा उल्लेख छ । संसदले ठूला योजना टुक्र्याएर एउटै कम्पनीलाई पोस्दै आएको छ।
आजको नागरिक दैनिकले भने बम विस्फोट आतंककारी गतिविधि शीर्षकमा मुख्य समाचार छापेको छ ।
विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिले ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि भएको बम विस्फोट घटनालाई आतंककारी गतिविधि भएको बताएका छन्। सर्वसाधारणको ज्यान जानेगरी भएको विस्फोटन आतंककारी तथा आपराधिक घटना भएको उनीहरुको टिप्पणी छ।
विभिन्न दलका नेताहरुले पनि यो घटनालाई अपराधिक गतिविधि भनेका छन् । यो घटनापछि सरकारले विप्लव समूहप्रति कडा नीति अवलम्बन गर्ने तयारी गरेको समाचारमा उल्लेख छ ।
यस्तै नागरिकले सांसदको ज्यान गएपछि सडक सुरक्षा कार्यदल बनेको र कांग्रेसको विधान बहुमतले पारित गर्दा १२ नेताले आपत्ति जनाएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ।
आजको अन्नपूर्ण पोस्ट्ले भने ठूला दलमा किचलो शीर्षकमा मुख्य समाचर लेखेको छ । सत्तारुढ दल नेकपा र विपक्षी दल कांग्रेस दुबैमा विवाद बड्दै गएको समाचारमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४