काठमाडौं – नेपाली कांग्रेस भित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले बहुमतबाट विधान पारित गरिएपनि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले नोट अफ डिसेन्ट लेखेको छ।
कांग्रेसको ११ महासमिति बैठकले पारित गर्न बसेको शुक्रबारको बैठकमा कांग्रेसका ११ जना नेताले नोट अफ डिसेन्ट लेखेका छन्। खासगरि महाधिवेशन प्रतिनिधि केन्द्रीय सदस्यहरु स्वतः बन्न पाउने कि नपाउने भन्नेमा विवाद केन्द्रित रहेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी बैठकले बहुमतबाट विधान पारित गरेको बताए। उनले भने, ‘लोकतान्त्रिक विद्यि अनुसार महामितिबाट केन्द्रीय समितिमा आएको पार्टीको विधान पारित भएको छ। अब यो कार्यान्वयन हुन्छ।’
महासमितिको समापनका बेला केन्द्रीय सदस्य तथा पदाधिकारी वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने, समावेशी सहभागीता दोहरिन नदिने सम्बन्धमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति भएको थियो। तर, संस्थापन पक्षले बहुमतको बलमा सहमती तोडेको भन्दै असन्तुष्ट पक्षले नोट अफ डिसेन्ट लेखेका हुन्।
केन्द्रीय सदस्य धनराज गुरुङले भइसकेको सहमति तोडिएकोले नोट अफ डिसेन्ट लेखिएको बताए।
यसै गरी शंकर भण्डारी लगाएतको समूहले हिन्दु राज्य कायम गर्नुपर्ने भन्दै विधान पारित गर्ने निर्णयमा नोट अफ डिसेन्ट लेखेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४