काठमाडौं – विवेकशील साझा पार्टीले विभिन्न ठाउँमा एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटप्रति आपत्ति जनाएको छ। पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै द्वन्द्वोत्तर मुलुकको कष्टकर घाउमा राम्रोसँग खाटा बस्न नपाउँदै फेरि सोही खाले गतिविधि हुनु दुखद् भएकाे जनाएको छ।
‘देशका विभिन्न भागमा हिंसात्मक विष्फोटका घटनाहरुले हामीलाई पुनः त्यही नमिठो स्मरणले झस्काएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘भीषण द्वन्द्वबाट गुज्रिएको मुलुकमा फेरि यस्ता हिंसात्मक घटनाहरु घट्नु मुलुकको संविधान, विधिको शासन तथा सम्पूर्ण लोकतान्त्रिक प्रक्रिया माथिकै चुनौती, चिन्ता र आपत्तिको विषय हो।’
पार्टीले त्यस्ता गतिविधिको भर्त्सना गर्दै ध्वंशमा विश्वास राख्ने दललाई चाँडो भन्दा चाडो हिंसा त्यागेर लोकतान्त्रीक विधि र प्रक्रियामा विश्वास गर्न आग्रह गरेको छ। हत्या, हिंसा र आतंकबाट सामाजिक परिवर्तनको दिगो र प्राकृतिक बाटो कहिल्यै पहिल्याउन नसकिने विवेकशील साझा पार्टीको धारणा छ।
पार्टीले बम विष्फोटमा परि मृत्यु भएका मृतकको आत्माको चीर शान्तिको कामना गर्दै घाइते नागरिकहरुको शिघ्र स्वास्थ्योपचार गर्न र क्षति भएका नागरिकहरुका हकमा क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४