काठमाडौं – विवेकशील साझा पार्टीले प्रदेश नं. १ को संयोजकमा झापाका समाजसेवी तथा उद्यमी अनिल भेटवाललाई नियुक्त गरेको छ। पार्टीको परम्परा अनुसार माटोको टिका लगाएर भेटवाललाई प्रदेश नं १ को संयोजकको जिम्मेवारी दिइएको हो।
शनिबार बिराटनगरमा आयोजित भेलामा प्रदेश संयोजकको रुपमा भेटवालको नाम सार्वजनिक गरिएको हो। समारोहमा पार्टीका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य तथा अन्य नेताहरुको उपस्थिति रहेको थियो।
सन् १९९० तिर राजनीति गरेका भेटवाल सन् १९९५ मा सबैभन्दा कम (२९ वर्ष) कै उमेरमा नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष बनेका थिए।
हाल पनि जेसिसको देशव्यापी प्रशिक्षक भएका कारण प्रदेश १ का सबै जिल्लाहरूमा उनको राम्रो सञ्जाल छ। करिव ६ वर्ष सपरिवार अमेरिका भेटवाल सन् २००८ मा सधैंको लागि नेपाल फिर्ता भएका थिए।
समारोहमा भेटवालले आफ्नै जीवनकालमा देशको रूपान्तरणको लक्ष्य बोकेर अघि बढ्न लागेको विवेकशील साझा पार्टीको नेतृत्वमा संलग्न भएर पार्टी तथा राष्ट्र निर्माणमा होमिन पाएकोमा अत्यन्तै खुशी र उत्साहित भएको बताए।
पार्टीका संयोजक मिश्रले अनिल भेटवाल जस्तो व्यक्तित्वलाई प्रदेश नं १ को नेतृत्व सुम्पन पाउनु खुशीको विषय भएको बताएका थिए।
विवेकशील साझा पार्टीले यस अघि नै प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको संयोजकमा क्रमशः समीक्षा बास्कोटा, महेश भण्डारी, अनुपमान सैँजु, गेहेन्द्र प्रसाद दहाल र गोपाल हमाललाई चयन गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४