विवेक ओझा ! सुनौलो भविष्य खोज्दै सुदूर बस्तीबाट राजधानी छिरेको एउटा २६ वर्षीय ठिटो। जसको अघि थुप्रै रहर र सपनाको चाङ छन्। तिनै विवेकले एउटा रहर पूरा गर्न २०७४ सालमा प्रकाशित गरे औपन्यासिक कृति ‘ऐलानी’। उक्त कृतिलाई पाठकले औधी रुचाए।कृतिले राम्रो व्यापार गर्यो।
यतिवेला ‘ऐलानी’ माथि सर्वोच्च अदालतमा मुद्दा दर्ता छ। यही फागुन १५ गतेका लागि ‘ऐलानी’ माथिको फैसलाको मिति तोकिएको छ ।
लेखक अपेक्षाभन्दा बढी सन्तुष्ट
‘ऐलानी’ प्रकाशित भएको एक वर्ष पुग्दै गर्दा लेखक पनि दंग छन्। यो भन्दा पहिला २०६४ सालमा संयुक्त कविता सङ्ग्रह ‘त्रिवेणी’ र २०७० मा एकल गजल कृति ‘एक पाइला आकाशमा’ प्रकाशित गरिसकेका विवेकको ‘ऐलानी’ तेस्रो कृति हो। विवेक ‘ऐलानी’ प्रकाशित गर्दै गर्दा राम्रो गर्छ भन्नेमा ढुक्क थिए। तर, यति उचाइ छुन्छ भन्ने उनलाई लागेको थिएन। एक वर्ष बित्दा पनि कृतिको चर्चा र प्रतिकृया उस्तै रहेको विवेक बताउँछन्। अहिले पनि दिनहुँ पाइरहने प्रतिक्रियाले विवेक दंग छन्।उनलाई यो प्रतिक्रियाले आगामी पुस्तक लेख्नमा ऊर्जा मिल्नुका साथै थप गम्भीर बनाएको छ।
विवेकलाई ‘ऐलानी’ले देशका विभिन्न कुना काप्चाका पाठकहरुसँग साक्षात्कार गर्ने अवसर प्रदान गर्यो। पाठकसँगको भेटको रमाइलो स्मरण गर्दै विवेकले भने, ‘मलाई पाठकहरुले पाको मान्छे होला सोचेका रहेछन्। मेरो उमेर र लेखनी हेर्दा धेरै ठाउँमा पाठक अकमक्क पर्नुभयो। धेरै ठाउँमा तपाइको लुक परिकल्पनाभन्दा बाहिरको भयो भन्ने पाठकहरु भेटें। पाठकहरुले दिएको स्नेहपूर्ण मायाको त झनै तारिफ गरिसाध्य छैन।’
‘ऐलानी’ भोकले निम्त्याएको भोगको पीडा
विवेक सुदूरपश्चिमको टीकापुरमा हुर्केका युवा हुन्।त्यहाँबाट मुढा बजार लगभग २८ किलोमिटरको दुरीमा छ।त्यहाँ बादी समुदायको बसोवास छ।बादी आर्थिक अवस्था निकै कमजोर भएको समुदाय हो।आर्थिक अवस्था कमजोर भएकै कारण उक्त समुदायका महिलाले पुस्तौंदेखि देहव्यापार गर्दै आएको कुरा पनि उनले राम्रोसँग बुझेका थिए।अहिले राज्यले उक्त कार्यमा कानुनी रुपमा बन्देज लगाए पनि उक्त समुदायको उचित व्यवस्थापन गर्न नसक्दा लुकिछिपी भए पनि उनीहरुले देहव्यापार जारी राखेका छन्। उक्त समुदायको पीडा देखेर बेलाबेला विवेकको मन कुँडिन्थ्यो।
विवेकले कैलालीको मुडामा रहेको बादी समुदायको पीडालाई कृतिमा उतार्ने सोच बनाए र काठमाडौंको बसोबासलाई कमा लगाएर कैलाली हान्निए।मिहीन ढंगले त्यो समाजका पीडालाई केलाए र शब्दमा गुथे ।
विवेकले राजधानी छिरिसकेपछि डान्सबार, डिस्को एवम् अस्तव्यस्त काठमाडौंमा अपाच्य समाज देखे। सहरमा पढेलेखेका क्षमतावान् युवतीहरुले देहव्यापार गरेको देख्दा विवेकको दिमागमा बाध्यताले त्यो पनि जातको कारण यौन धन्दा गर्ने समुदाय सम्झिए।तिनीहरुकै पृष्ठभुमिमा किताब लेख्ने निर्णय गरे। जुन समुदाय बाध्यताले त्यो पेसा गर्न विवश छ। उनीहरुलाई त्यो बाध्यता सिर्जना गर्ने भोको पेट हो।उनीहरुसँग पाखोबारी छैन। उनीहरुले पशुपालन गरेरै भए पनि जीविकोपार्जन गर्नलाई पनि सहज छैन। भोकले निम्त्याएको भोगको पीडादायी कथा नै ‘ऐलानी’ हो। त्यही विवशता बुझेर आफूले ‘ऐलानी’ लेखेको विवेकले बताए। उनले २०७१ सालबाट ‘ऐलानी’ लेख्न सुरु गरेका हुन्। तीन वर्ष लगाएर उनले कृति तयार गरे र ०७४ मंसिरमा बजारमा ल्याए।
‘उमा बादीले सिंहदरबारमा नांगो प्रदर्शन गरेकी थिइन्। त्यो लाजको प्रतीक थिएन। न त त्यो निरीहताको प्रतीक थियो। त्यो त परिवर्तनका लागि गरिएको एउटा क्रान्तिको प्रतीक हो।मैले पनि एउटा लेखकको रुपमा त्यही समुदायको आवाज उठाएको हुँ।’
उनी पहिचान लुकाएर पसेका थिए मुडामा। कुनै लेखकको रुपमा त्यो समुदायको माया पाउने किसिमले पसेका होइनन्। पहिलो पटक उनी लम्कीका पत्रकार साथी धर्मेन्द्र बिसी ‘अत्युत’ सँग मुडा गएका थिए।उनी पनि त्यहाँ पत्रकारकै रुपमा प्रस्तुत भएका थिए।त्यसपछि खुल्यो मुढाको ढोका उनका लागि र विभिन्न पात्रसँग समय–समयमा भेटे, कुरा गरे र गुथे एउटा कथा। जसले पायो ‘ऐलानी’को रूप। ‘ऐलानी’का पात्रको खोजीमा मुडा पुगेको, कर्णालीको तिरैतिर बिताएको समय र बन्दकोठामा एकहोरो भएर लेखिरहदा पात्रसँगको सामूहिक अवस्था सम्झेर अहिले पनि दंग हुन्छन् विवेक ।
‘ऐलानी’ माथि मुद्दा
राज्यलाई थाहा हुँदाहुँदै पनि थाहा नपाएजस्तो गरेको बादी समुदायको कथालाई राज्यको ढोकासम्म पुर्याउने ध्येयका साथ शब्दको सहायता लिएका हुन् विवेकले। तर, तिनै शब्दमाथि आपत्ति जनाउँदै उनको कृतिमाथि यतिबेला सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ।मीना नेपालीसहित आठ जनाको समूहले ‘ऐलानी’ माथि असोज ११ मुद्दा दर्ता गराएको हो। ‘म मेरो कथा, पात्र र राज्यको प्रवृत्तिमा कुनै फरक भएको भए वा कसैको अपमान भएको भएजस्तो सुकै कारबाही भोग्न तयार छु’, उनले भने, ‘तर, यहाँ उक्त समुदायको वास्तविक पीडालाई बाहिर ल्याएर राज्यलाई सचेत बनाउन खोज्दा मुद्दा दर्ता भयो। जुन दुःखद हो। उहाँहरुले त झनै समस्या समाधानका लागि लड्नुपर्नेमा। समस्या बाहिर ल्याउँदा त्यसैविरुद्ध उत्रिनुभयो।’ अहिले पनि मुडामा उक्त समस्या कायमै रहेको बताउँदै विवेकले राज्यले एउटा समुदायलाई गरिबीको सिकार हुनबाट बचाउनुपर्ने प्रतिक्रिया दिए।
सुरुमा कृतिमाथि मुद्दा दर्ता भएको खबर पाउँदा आफैंलाई- हो र ? जस्तै लाग्यो।एक दिन उनी लेखनमै व्यस्त थिए।ल्यान्डलाइन नम्बरबाट उनको मोबाइलमा फोनको घन्टी बज्छ। विवक फोन उठाउँछन्। त्यो फोन सर्वोच्चबाट रहेछ। उनलाई ‘ऐलानी’ माथि मुद्दा दायर भएको खबर प्राप्त हुन्छ। उनी फोन राख्छन् र यस्तो पनि हुन्छ र? सोच्दै रनभुलमा पर्छन्। उनलाई निकै तनाव भयो। उनी भन्छन्, ‘आखिर मुद्दा त मुद्दा नै हो नि।अदालत र वकिलको काम।झन्झट ।’
उनले हाँस्दै रमाइलो किस्सा सुनाए- ‘त्यो रात त केही भएन।पछिल्लो रात सपनामा महोदय भन्दै कठघरामा उभिएको सम्म सपना देखें। ब्युँझिँदा हाँसो पनि लाग्यो।यद्यपि मैले आफैंले अनुमान गरेभन्दा बढी स्ट्रेस लिएछु।’ पछि बिस्तारै आफूलाई स्वाभाविक रुपमा ढाल्न खोजे। प्रतिपक्षको आवाज पनि स्वाभाविक ठान्नुपर्छ किनकि त्यो आवाज पनि आखिर कसैले उठाएको हो ठान्दै अहिले निर्णयको प्रतीक्षामा छन् विवेक। उनले आफूलाई जस्तोसुकै फैसला पनि मान्य हुने बताए।‘किताब ब्यान्ड भए पनि आपत्ति हुनेछैन। ममा न्यायालयप्रतिको सम्मान र विश्वास छ, उनले भने ।
उनी भन्छन्, ‘उमा बादीले सिंहदरबारमा नांगो प्रदर्शन गरेकी थिइन्। त्यो लाजको प्रतीक थिएन। न त त्यो निरीहताको प्रतीक थियो। त्यो त परिवर्तनका लागि गरिएको एउटा क्रान्तिको प्रतीक हो। मैले पनि एउटा लेखकका रुपमा त्यही समुदायको आवाज उठाएको हुँ। उहाँहरुले राज्यसँग सुरक्षा र अधिकार माग्नुपर्थ्यो भन्ने मेरो मान्यता हो।’
‘जसले मुद्दा दर्ता गर्नुभयो उहाँमा त परिवर्तन आइसकेको होला। तर, त्यो समुदायको पीडा भने उस्तै छ’, उनले भने, ‘मुद्दा दर्ता गर्नेहरु मेरो कथावस्तु भएको ठाउँमा पुगेका छन् छैनन् थाहा छैन। पुगेका भए पनि उहाँहरुले के देख्नुभयो त्यो पनि थाहा छैन। मैले देखे जस्तो पीडा त्यहाँ नभए म जस्तोसुकै आक्षेप भोग्न तयार छु।’
अहिले विवेकले नयाँ पुस्तक लेख्न सुरु गरेका छन्। साहित्यमै भविष्य खोज्ने योजना बनाएका उनले फुल टाइम लेखनमै बिताइरहेछन्। यद्यपि भविष्यमा के-कसो हुन्छ भन्न सकिँदैन भन्दै उनी मुस्कुराए। पहिले भन्दा सचेत रहेको उनले बताए। उनले भने, ‘मुद्दाले धेरै कुरामा सतर्कता बनाइरहन्छ बेलाबेला। यसले कतै मेरो स्वतन्त्रता च्याप्दै त छैन भन्ने लाग्छ। यसले ओभर कन्सिएस बनाएर कलामा मानसिक पर्खाल ठडिनसक्छ कि भन्ने डर लाग्छ।’ उनले लेखनमा अवरोध गर्न नहुने तर्क गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४