ललितपुर- नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार बिहान भेटवार्ता गरेका छन्। अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती लगानीका बारेमा छलफल भएको थियो।
अध्यक्ष प्रचण्डले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा राज्यमन्त्री ल्याङकेष्टरसँग जिज्ञासा राखेका थिए। त्यसैगरी अध्यक्ष प्रचण्डले नेपाली शान्ति प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो। अध्यक्षले आफूहरुको समग्र ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको हुँदा वैदेशिक लगानीकर्ताहरुलाई आकर्षित गर्न वर्तमान स्थायी सरकार लागि परेको पनि बताए।
चार दिवसीय नेपाल भ्रमणमा रहनुभएका राज्यमन्त्री ल्याङकष्टरले नेपालको आर्थिक समृद्धिमा बेलायत सरकार हातेमालो गर्न तयार रहेको बताए। राज्यमन्त्रीले गोर्खा सैनिकहरुले उठाएका समस्या नेपालको मात्र नभएर बेलायतको पनि भएको बताए। उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि एक उदाहरणको रुपमा रहेको धारणा पनि व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४