भैरहवा- सामुदायिक विद्यालयको शैक्षिक सुधारमा विशेष ध्यान दिनुपर्ने बेला आएको प्रदेश मन्त्री लिला गिरीले बताएका छन्।
भैरहवामा रहेको भानु माध्यामिक विद्यालयको ४३ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीले भने , ‘राज्यको लगानी रहेको सामुदायिक विद्यालयमा शैक्षिक सुधारको अझै खाँचो छ।’
मन्त्री गिरीले शिक्षक, कर्मचारी र अभिभावक एक भएर शैक्षिक सुधारमा लागे सामुदायिक विद्यालयको शैक्षिक स्तर कहिल्यैं कमजोर नहुने पनि बताए। उनले भने, ‘समय सापेक्ष, वैज्ञानिक र व्यवहारिक शिक्षा नीति बनाउदैं राज्य अगाडी बढ्ने तयारीमा छ। सोही अनुसार सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरु पनि लाग्नु पर्दछ। ’
कार्यक्रममा प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले अबको शिक्षा व्यवहारिक र वैज्ञानिक हुनुपर्ने बताए। सिद्धार्थनगरका प्रमुख हरि अधिकारीले राज्यले शिक्षा क्षेत्रमा प्रर्याप्त बजेट व्यवस्थापन गर्ने बताए। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नसरुद्दीन खानको अध्यक्षता, शिक्षिका भगवती आचार्यको स्वागत, सहायक प्रधानाध्यापक पवित्रा कोइरालाको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, पुर्व मन्त्री हकिकुल्लाह खान लगायतले परम्परागत शिक्षा पद्धतीमा परिवर्तन गरी नयां ढंगले शैक्षिक गतिविधीलाइ अगाडी बढाउनु पर्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४