भैरहवा- प्रदेश नं ५ का सदस्य उत्तरकुमार ओलीको निधनप्रति मुख्य मन्त्री शंकर पोखरेलले दुखः व्यक्त गरेका छन्। मुख्यमन्त्री पोखरेलले शोक विज्ञप्ति प्रकाशित गर्दै दाङ जिल्ला क्षेत्र नम्बर ३ ख का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको असामयिक निधनले स्तब्ध गराएको उल्लेख गरेका छन्।
गत माघ २४ गते लमहीमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएका उनको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। दुर्घटना पश्चात प्रारम्भिक उपचार कोहलपुर मेडिकल कलेजमा गरेपछि थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो। ओलीको आज बिहान ३ बजे निधन भएको हो।
मुख्यमन्त्री पोखरेलले ओली सधैं परिवर्तनको पक्षमा दृढ, जनताको माझमा भिजेका नेता भएको उल्लेख गर्दै ओलीको निधनले प्रदेशसभाले योग्य र कुशल सदस्य गुमाएको बताएका छन्।
उनले भनेका छन, ‘ परिवारजनले एक असल अभिभावक र दाङवासीले भरोसायोग्य नेता गुमाउनु परेको छ । नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्याएको योगदानको हामी सधैं स्मरण गरिरहने छौं । स्वर्गीय ओलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गर्दछु । साथै, शोकको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४