काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
आजको कान्तिपुर दैनिकले सुनकाण्डको शंकास्पद आदेशप्रति न्यायपरिषद् मौन बसेको विषयलाई मुख्य समाचार बनाएको छ ।
साढे ३३ किलो सुनकाण्डमा शंकास्पद फैसला गर्ने जिल्ला अदालत काठमाडौंका एक र उच्च अदालत पाटनका दुई न्यायाधीशमाथि छानबिन नै थालिएको छैन् । न्यायाधीशकै चलखेलका कारण तस्करीमा संलग्नहरु सामान्य धरौटीमा रिहा भएको समाचारमा उल्लेख छ ।
यस्तै कान्तिपुरले तत्कालिन पर्यटन सचिव कृष्णप्रसाद देवकोटाको सरुवा इलेक्ट्रिक बसको दबाब नमानेकै कारण भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
भारतबाट ल्याएको इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको भनेर प्रमाणित नगरेकै कारण आफूलाई सरुवा गरिएको सचिव देवकोटाको दाबी छ । यो बस ल्याउनेले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालमार्फत धेरै पटक सचिवलाई दबाब दिइएको समाचारमा उल्लेख छ ।
आजको नागरिक दैनिकले भने राजगुठी कमलपोखरी यसरी भयो व्यक्तिको शीर्षकमा मुख्य समाचार छापेको छ । सत्ता र शक्तिको दुरुपयोग गरी राणाहरुले कमलपोखरी हडपेको र भगवान बहालको पोखरी र जग्गा राणाले तर्साएर लिएका समाचारमा उल्लेख छ ।
यस्तै नागरिकले सत्तारुढ दलमा कार्य विभाजनका लागि गुटगत स्वार्थ बाधक बनेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा ओलीको गुटगत स्वार्थका कारण पछाडी धकेलिएको स्रोतलाई उदृत गर्दै नागरिकले लेखेको छ । उसका अनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाल पर्ख र हेर नीतिमा छन् ।
मुद्दा लड्दा सुकुम्बासी बनेका एक व्यक्तिको कथालाई मुख्य समाचार बनाएको आजको अन्नपूर्ण पोस्ट्ले पनि नेकपा भित्रको विवादलाई नै प्राथमिकताका साथ छापेको छ ।
कार्यदलमा मतभेद शीर्षकमा खबर लेखेको उसले तल्लो तह र जनवर्गाीय संगठनको एकता प्रस्ताव तयार पार्न गठन गरेको कार्यदलको म्याद थप गर्ने ÷नगर्ने विवाद चुलिएको उल्लेख गरेको छ । अध्यक्ष केपी ओली कार्यदल विघटनको पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड मौन देखिएका छन् । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेता कार्यदलको समय थप्नु पर्ने पक्षमा देखिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४