शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्ट्रेलियामा विद्यार्थी अलपत्र पार्ने कन्‍सल्टे‍न्‍सीमाथि छानबिन

अस्ट्रेलियामा विद्यार्थी अलपत्र पार्ने कन्‍सल्टे‍न्‍सीमाथि छानबिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नर्सिङ पढ्न करिब एक हजार विद्यार्थीलाई अस्ट्रेलिया पठाउने शैक्षिक परामर्शदाता कम्पनी (कन्सल्टेन्सी) माथि शिक्षा मन्त्रालयले छानबिन गर्न थालेको छ। अस्ट्रेलियाको सिड्नीमा रहेको अस्ट्रेलियन इन्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) कलेजको सम्बन्ध खारेज भएपछि  नर्सिङमा ब्याचलर अध्ययन गर्न त्यहाँ पुगेका एक हजार विद्यार्थी अलपत्र परेका छन्। ती विद्यार्थी अलपत्र परेपछि उनीहरूलाई त्यहाँ पठाउने कन्सल्टेन्सीमाथि छानबिन गर्न लागिएको शिक्षा प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए।  

मन्त्रालयका अनुसार सबैभन्दा बढी विद्यार्थी अस्ट्रेलिया पठाउने कन्सल्टेन्सीमा अल्फाबिटा एजुकेसन, एक्सपर्ट एजुकेसन, डल्फिन एजुकेसन, कंगारु एजुकेसन छन्। यस्तै वेब एजुकेसन कन्सल्टेन्सी, फर्सिस सर्भिस, सनराइज एजुकेसन, काठमाडौं इन्फोसिस, एबिसी एजुकेसन, मार्सी एजुकेसनबाट पनि धेरै विद्यार्थी अस्ट्रेलियामा पढ्न भनेर गएका छन्। 

प्रवक्ता अर्यालले अस्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र परेको विषयमा अनौपचारिक जानकारी पाएपछि परराष्ट्र मन्त्रालयमार्फत क्यानबेरास्थित नेपाली दूतावास र सरोकारवाला निकायसँग परामर्श सुरु गरिएको जानकारी दिए। उनले भने, ‘हामीले अस्ट्रेलियाको सिड्नीस्थित एआइबिटी  कलेजको सम्बन्धन खारेज भएपछि त्यहाँ अध्ययनरत विद्यार्थी अलपत्र परेको अनौपचारिक जानकारी पाएका छौं। 

परराष्ट्रमार्फत कूटनीतिक पहल गरी उनीहरूले भोगिरहेका समस्या समाधान गर्न पहल थालेका छौं।’ इजाजत नपाएको कलेजमा विद्यार्थी पठाउने कन्सल्टेन्सीमाथि छानबिन गरी दोषी पाइएमा कडा कारबाही गरिने अर्यालले बताए।

उनका अनुसार सम्बन्धित कन्सल्टेन्सीसँग नेपाली विद्यार्थीलाई इजाजत नै नदिएको कलेजमा जान सम्बन्धित देशको दूतावाससँग किन भिसा दिइयो ? भनेर स्पष्टीकरण लिइनेछ। प्रवक्ता अर्यालले पछिल्लो समयमा बंगलादेश र मोरिसियस जाने विद्यार्थीले यस्ता समस्या भोगिरहेका छन्। उनले विद्यार्थीलाई बिचल्लीमा पार्ने कन्सल्टेन्सीमाथि समिति गठन गरेर छानबिन गर्न लागिएको जानकारी दिए। प्रवक्ता अर्यालले भने, ‘हामीले केही कन्सल्टेन्सीमाथि अनौपचारिक रुपमा अध्ययन सुरु गरिसकेका छौं। छानबिन समिति छिट्टै गठन हुनेछ।’ उनले शिक्षा मन्त्रालयले कूटनीतिक पहल सुरु गरिसकेकाले पीडित विद्यार्थी र अभिभावकलाई धैर्य गर्न  आग्रह गरे।

उम्कने प्रयासमा कन्सल्टेन्सी 

अस्ट्रेलियामा विद्यार्थी पठाउँदै आएका कन्सल्टेन्सी सञ्चालक भने त्यहाँ गएर विद्यार्थी समस्यामा पर्नुमा नो अब्जेक्सन लेटर दिने शिक्षा मन्त्रालय र भिसा दिने अस्ट्रेलियन दूतावास जिम्मेवारी रहेको भन्दै पन्छिन्छन्। एआइबिटीमा सबैभन्दा बढी विद्यार्थी पठाउने एक्सपर्ट एजुकेसन कन्सल्टेन्सीका सञ्चालक खेमराज संग्रौलाले आफूहरूले उक्त कलेजमा १५ जना विद्यार्थी पठाएको जानकारी दिए। उनले भने, ‘हामीले त्यहाँ १५ जना विद्यार्थी पठाएका छौं। तीमध्ये सातजना आइटी र म्यानेजमेन्टका छन्। बाँकी ८ जनालाई एआइबिटीमा समस्यामा परेपछि अन्यत्रै ट्रान्सफर गरेका छौं।’ 

उनका अनुसार एक्सपर्टबाट पठाइएका तीनजना विद्यार्थी मात्र समस्यामा परेका छन्। संग्रौलाले भने, ‘त्यसमा हाम्रो मात्र कमजोरी छैन। उनीहरुलाई नो अब्जेक्सन दिने शिक्षा मन्त्रालय र अस्ट्रेलियन सरकारको पनि कमजोरी छ।’ उनले विद्यार्थीले भोगिरहेका समस्या समाधान गर्न कन्सल्टेन्सीले पहल सुरु गरेको जानकारी दिए। उनले भने, ‘अस्ट्रेलिया जानुअगाडि विद्यार्थीले सम्बन्धित कलेजका  विषयमा दूतावासमा रिसर्च पेपर बुझाएका छन्। उनीहरुको स्पोन्सर लेटरमा पनि कलेज सम्बन्धनको पर्खाइमा रहेको जानकारी गराइएको छ। अहिले समस्या परेपछि हामीलाई केही थाहा थिएन भन्नु गलत हो।’

डल्फिन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक प्रेम पाण्डेले आफ्नो संस्थाबाट एकजना मात्र सो कलेजमा गएको जानकारी दिए। उनले ती विद्यार्थीका समस्या समाधान गर्न आफूले पनि पहल थालेको उनले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।