शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'बेटी पढाई, बेटी बचाई' अभियानअन्तर्गत शिक्षा बीमाको उद्‍घाटन

'बेटी पढाई, बेटी बचाई' अभियानअन्तर्गत शिक्षा बीमाको उद्‍घाटन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज-  प्रदेश नम्बर २ मा प्रदेश सरकारले शुरु गरेको 'बेटी पढाई, बेटी बचाई' अभियान अन्तर्गत शिक्षा बीमाको बिहीबार  राष्ट्रपति विद्या देवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेका छन्। 

त्रिजुद्ध उच्च माध्यमिक विद्यालय परिसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले बीमित बालिकाको अभिभावकलाई प्रमाण पत्र हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरेका हुन्।

प्रदेश सरकारले प्रदेशमा जन्म लिने कुनै पनि  छोरीलाई शिक्षाको हकबाट बञ्चित हुन नदिने उद्देश्यले 'बेटी पढाई, बेटी बचाई' अभियान संचालन गरेको हो। यो अभियान अन्तर्गत नियमित अध्ययन गर्दै २० वर्ष पुरा गर्ने छात्रालाई प्रोत्साहन स्वरुप एक‌लाख रुपैयाँ नगद प्रदान गरिनेछ।

यो अभियान अन्तर्गत प्रत्येक छोरीलाई दश कक्षासम्मको शिक्षाको सुनिश्चितताको साथै उच्च शिक्षा हासिल गर्नको लागी आर्थिक सहयोग प्रदान गर्ने प्रदेश सरकारको योजना रहेको प्रदेश मुख्य मन्त्री लालबाबु राउतले बताए।

यो अभियान अन्तर्गत माघ १ गतेदेखि जन्मिएका बालिकाको नाममा अभिभावक संरक्षक रहने गरी २० वर्षे मुद्दती बचत खाता खोल्ने व्यवस्था गरिएको छ। खाता खोलेसँगै प्रदेश सरकारले प्रत्येक खातामा १३ हजार ४४६ रुपैयाँ एकमुष्ठ जम्मा गरिदिनेछ। यसरी जम्मा गरिएको रकम २० वर्षमा खाताको अवधि सँगै परिपक्व भएपछि खातावाला छोरीले एक लाख रुपैयाँ एकमुष्ठ भुक्तानी पाउनेछन्।

मुद्दती खाता खोल्न प्रदेश सरकार र प्रभु बैंक बीच सम्झौता समेत भइसकेको छ। प्रभु बैंकको प्रदेश २ अन्तर्गत संचालनमा रहेको सबै १८ वटा शाखाबाट 'बेटी बचाई बेटी पढाई' अभियानको खाता खोल्ने र भुक्तानी प्राप्त गर्ने सुविधा उपलब्ध गराइने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उद्घाटन समारोहमा जानकारी दिए। 

खातावाला बालिकाले बीचमै पढाइ छोडेमा, २० वर्ष नपुगी बिहे गरेमा वा बेपत्ता भएको प्रमाणित भएमा खाताको रकम अभिभावकले पाउदैनन्।मुख्यमन्त्री 'बेटी पढाई, बेटी बचाई' कोषमा नै फिर्ता हुनेछ। 

खातावाला छोरीको मृत्यु भएमा वा असाध्य कडा रोग लागेको प्रमाणित भएमा वा अभिभावकको मृत्यु भएमा बालिकाको शिक्षामा असर पर्ने देखिएमा मन्त्रालयको सिफारिसमा खातामा जम्मा भएको रकमको साँवा ब्याज प्राप्त गर्न सकिने छ‌।

उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिका प्रमुख विजय कुमार सरावगीले महानगर क्षेत्रको बालिकालाई शिक्षाको लागी प्रोत्साहन गर्न प्रत्येक विद्यालयमा आगामी शैक्षिक शत्रदेखि नि:शुल्क रुपमा स्यानिटरी प्याड( महिनावारीको समयमा प्रयोग गरिने सुरक्षित टालो)  उपलब्ध गराउने घोषणा गरे।

प्रदेश नं. २ को सरकारले आर्थिक वर्ष २०७५/७६ मा ‘बेटी बचाउ बेटी पढाउ’ अभियानका लागि  ८९ करोड रुपैयाँ विनियोजन समेत गरेको छ। अभियान अन्तर्गत विद्यालय आउजाउ गर्न सहजताको लागी नि: शुल्क साइकल वितरण र छात्रा मैत्री शौचालय निर्माणलाई समेत प्राथमिकताको साथ समेटिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।