काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ। महासमितिबाट पारित प्रस्तावहरू सर्वसम्मत पारित गर्ने र नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्ने विषयमा निर्णय गर्ने बैठकको कार्यसूची छ।
नेपाल विद्यार्थी संघको तदर्थ समिति बन्ने निश्चित भए पनि उमेर हद ३२ वर्ष कायम गर्ने वा नगर्ने भन्ने विषयमा नेताहरूबीच विवाद छ। संघको विधानअनुसार ३२ वर्ष उमेर हद लगाउने विषयमा सभापति शेरबहादुर देउवा सकारात्मक छन्। तर रामचन्द्र पौडेल पक्षले पनि संघको १२ औं अधिवेशनपछि मात्र उमेर हद लगाउनुपर्ने अडानमा छन्।
नेपाल विद्यार्थी संघको बारेमा निर्णय गर्ने जिम्मेवारी यसअघि नै केन्द्रीय समितिले सभापति देउवालाई दिएको छ। कांग्रेसमा सहमतिका नाममा यसअघि पनि विधान तोडिँदै आएको छ। नेविसंघको विषयमा पनि सभापति विधानविपरीत जान सक्ने सम्भावना छ। कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘संघको विधानअनुसार ३२ वर्ष उमेर हद कायम गर्नुपर्ने भएकाले यस विषयमा निर्णय गर्न सभापति देउवालाई केन्द्रीय समितिले जिम्मेवारी दिएको छ। उहाँले सहमतिका आधारमा वा विधानअनुसार कसरी निर्णय गर्नुहुन्छ? त्यो उहाँकै अधिकार हो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४