काठमाडौं – सांगठनिक एकता प्रक्रिया टुंगोमा पुर्याउन गठित नेपाल कम्युनिस्ट पार्टी कार्यदलले एक साता समय मागेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा सहभागी कार्यदलका सदस्यहरूले एकता प्रक्रिया टुंगोमा पुर्याउन एक साता समय मागेका हुन्। पुस १३ गतेको स्थायी समितिको बैठकले रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। आजको बैठकमा कार्यदलका सदस्यहरूले एक साता समय दिए सबै विषय टुंगो लगाउन सकिने विश्वास दिलाएका थिए।
बैठकपछि सञ्चारकर्मीसँँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलका सदस्यसँग छलफल र राय माग गरिएको जानकारी दिए। उनका अनुसार कार्यदलबाट आएका सुझावपछि सचिवालयको बैठक बसेको हो। यसबारे थप छलफल गर्न शुक्रबार बिहान ९ बजे सचिवालय बैठक बस्ने छ।
कार्यदलले तीन महिनामा सवै तहको सांगठानिक एकता टुंगो लगाउने घोषणा गरे पनि लामो समयसम्म एकीकरण हुन नसकेपछि नेतृत्वमाथि चाँडो टुंगो लगाउन दबाब परिरहेको छ। कार्यदलले तोकिएको जिम्मेवारी पूरा गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डका लागि निल्नु न ओकल्नुभएको छ। कार्यदलमै विवाद भएपछि गत सोमबार बसेको सचिवालय बैठक कुनै निर्णयमा पुग्न सकेको थिएन।
कार्यदलमा विष्णु पौडेल, वर्षमान पुन, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल, रघुवीर महासेठ र योगेश भट्टराई छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४