भैरहवा- बुद्ध धर्मका महायान, बज्रयान र थेरवाद सम्प्रदायमध्ये थेरवाद सम्प्रदायको उच्चतम अभ्यास म्यानमार (बर्मा) का विश्वविद्यालयमा हुने गरेको छ। बुद्ध अनुशासन र ज्ञानलाई जस्ताको तस्तै जीवनमा प्रयोग गर्ने शैली थेरवाद सम्प्रदायअन्तर्गत पर्दछ। यस्तो अभ्यास संसारका अन्य देशमा भन्दा बर्मेली विश्वविद्यालयमा हुने गरेको छ।
बौद्ध धर्मावलम्बी देश म्यानमारले त्यहाँका २० वटा बुद्धिस्ट युनिभर्सिटीमा मात्रै होइन प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्म पनि थेरवाद बुद्धिज्मको शिक्षण गर्दै आएको छ।
बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस स्नातकोत्तर तह प्रथम वर्षका विद्यार्थीको टिमसँग अन्तरक्रिया गर्दै बर्माको बुद्धिस्ट युनिभर्सटीका पदाधिकारीले नेपालमा थेरवाद बुद्धिज्म प्रवद्र्धनमा सक्दो सहयोग गर्ने वचन दिएका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस लुम्बिनीका प्रमुख फणीन्द्र न्यौपानेले सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयको परिचय र पाठ्यक्रमबारे बताएका थिए। उनले बुद्ध शिक्षणको अभ्यासबाट आफूहरु साँच्चिकै प्रभावित भएको पनि बताए।
बुद्धको महापरिनिर्वाणको करिब डेढ सय वर्षपछि भएको दोस्रो संगायनमा बुद्ध अनुशासन (विनय) मा रहेका केही कुरा समयसापेक्ष परिवर्तन गर्नुपर्यो भनी चर्चा चल्दा ‘त्यसो गरिनु हुँदैन, बुद्धको ज्ञान, अनुशासन र शीललाई जस्ताको तस्तै लागू गर्नुपर्दछ’ भन्नेहरु एकजुट भई थेरवाद सम्प्रदाय सञ्चालन गरेका थिए।
करिब २५ सय वर्षअगाडि बुद्धले दिएका शिक्षा र ज्ञानलाई जस्ताको तस्तै अध्ययन अनुसन्धान गर्नेगरी म्यानमार सरकारले विभिन्न विश्वविद्यालयमार्फत अध्ययनअध्यापन गराइरहेको छ। त्यहाँका प्राथमिक तहका विद्यालयदेखि विश्वविद्यालयमा बुद्ध शिक्षण, अनुसन्धान र अध्ययन एकै प्रकृतिले हुने गर्दछ। म्यानमारका हरेक शैक्षिक प्रतिष्ठानको नाम बुद्धत्व झल्किने गरी राखिएको छ। त्यहाँभित्रका अभ्यासहरु पनि सोही प्रकृतिका हुने गरेको अध्ययन भ्रमणमा सहभागी विद्यार्थी सनिउल्लाह धोबीले बताए।
बुद्धिज्मलाई मूल पाठ्यक्रम बनाएर प्राथमिक तहदेखि विश्वविद्यालय र पिएचडी तहसम्म पठनपाठन एवं अध्ययनअनुसन्धानमा म्यानमार सरकारले काम गरिरहेको छ। भिक्षु पोसाकमा कक्षाकोठामा बसेर शालीन ढंगले अध्ययनअध्यापन गर्ने गुरुशिक्षक देख्दा सबै आश्चर्य चकितसमेत भएको लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्धिज्मका विद्यार्थी कमल रायमाझीले बताए। उनले भने, ‘हामीले देखेको, भोगेको विश्वविद्यालय फरकफरक सोच, फरकफरक पोसाक र फरकफरक प्रकृतिको थियो। तर त्यहाँका विश्वविद्यालयमा सोच, अध्ययन, पोसाक र रहनसहन सबै एकै प्रकृतिको हुँदा रहेछन्।’

यांगुनस्थित स्टेट परियती शासन युनिभर्सिटीमा ब्रहमिज भाषामा पढाइ हुन्छ। उक्त विश्वविद्यालयका रेक्टर भिक्षु डा. कुमारका अनुसार सन् १९८६ मा स्थापना भएपछि अहिलेसम्म सयौं विद्यार्थीलाई बुद्ध शिक्षणसम्बन्धी ज्ञान दिइएको छ। उनीहरुले बौद्ध धर्म र दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय स्तरका शोधसमेत गरेका छन्।
उक्त विश्वविद्यालयका अनुसन्धान विभाग प्रमुख भिक्षु डा. भिना श्रीका अनुसार स्टेट परियती शासन युनिभर्सिटीका शोधार्थीले थेरवाद बुद्धिज्मको दृष्टिकोणबाट संसारलाई काम लाग्ने अनुसन्धान गरिरहेको बताए।
मन्डालेस्थित स्टेट परियती शासन युनिभर्सिटीका भाइस रेक्टर याना लिंगरा पवान्साले थेरवाद बुद्धिज्ममा अध्ययन तथा शोध गर्न चाहने जोकोही नेपालीलाई पनि अवसर दिइने बताए। उनले नेपाली विद्यार्थीलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरु थेरवाद बुद्धिज्मको अध्ययन अनुसन्धान गर्न चाहनुहुन्छ भने हामी सहयोग गर्न तयार छौं।’
थेरवाद बुद्धिज्मअन्तर्गत स्नातकदेखि पिएचडीसम्म पठनपाठन गर्न चाहने स्वदेशी तथा विदेशी विद्यार्थीका लागि म्यानमार सरकारले पूर्ण र आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरेको म्यानमारमा रहेर नेपालीका लागि स्वयंसेवी कार्य गर्ने नेपाली भाषी शतीश न्यौपाने (तुनतुन) ले बताए।
यांगुनमा रहेको अन्तर्राष्ट्रिय बुद्धिस्ट थेरवाद मिसिनरी युनिभर्सिटीमा भने ब्रहमिज भाषाका अतिरिक्त अंग्रेजी भाषामा पनि पठनपाठन हुने गर्दछ। उक्त विश्वविद्यालयबाट अहिलेसम्म २ जना नेपालीले विद्यावारिधि गरेका छन्।
उक्त विश्वविद्यालयलाई अविधम्ब मिसिनरी युनिभर्सिटी भनेर पनि चिनिन्छ। म्यानमारमा रहेका २० वटा युनिभर्सिटीमध्ये अन्तर्राष्ट्रिय बुद्धिस्ट थेरवाद मिसिनरी युनिभर्सिटीमा मात्रै अग्रेजी भाषामा पनि पठनपाठन हुन्छ।
अन्तर्राष्ट्रिय बुद्धिस्ट थेरवाद मिसिनरी युनिभर्सिटीमा पिएचडी अध्ययन गरिरहेका नेपाली विद्यार्थी यामिन्द्र मल्ल ‘भिक्षु सोभन’ ले बुद्धिज्मको सही ढंगले अध्ययन अनुसन्धानका लागि ब्रमेली विश्वविद्यालय सबैभन्दा उपयुक्त भएको बताए। उनले भने, ‘बुद्धिज्ममा गहन ढंगले अध्ययन गर्न चाहनेलाई यहाँको युनिभर्सिटी संसारका अन्य विश्वविद्यालयको तुलनामा उपयुक्त छन्। ’
बर्मेली विश्वविद्यालयमा स्वदेशीका अतिरिक्त थाई, भियतनामी, जापनिज, कोरियन विद्यार्थी पढ्नका लागि आउने गरेको त्यहाँको तथ्यांकले देखाएको छ। थेरवाद बुद्धिज्ममा अध्ययनअनुसन्धानका लागि बर्मेली विश्वविद्यालय संसारकै उपयुक्त केन्द्र भएको म्यानमारका लागि नेपाली राजदूत भीमकुमार उदासले बताए।
म्यानमार बौद्ध संगायनको पाँचौं र छैटौं संगायन भएको देश हो। बौद्ध संगायनको पहिलो संगायन भारतको राजगिरमा भएको थियो। दोस्रो सराबस्ती र तेस्रो पाटलीपुत्रमा भएको थियो। यसैगरी चौथो संगायन श्रीलंकामा भएको थियो भने पाँचौं र छैटौं म्यानमारमा भएको थियो।
बुद्ध धर्म दर्शनअनुसार छैटौं शताब्दीमा महामानव बुद्ध भारतको बोधगयास्थित बोधी रुखमुनि बसिरहेका बेला बर्माका दुईजना व्यापारी तपौसिया र भालिका त्यही बाटोबाट जाँदै गर्दा ती व्यापारीलाई बुद्धले आफ्नो टाउकोबाट आठवटा कपालको रौं निकालेर दिएका थिए।
त्यही रौ लिएर स्वदेश फर्केका ती व्यापारीले म्यानमारमा बुद्ध धर्म र दर्शनलाई प्रचारप्रसार मात्रै गरेनन् संवद्र्धन र संरक्षण पनि गरे। पछि त्यहाँका राजा ओकालापाले बुद्धको कपालको रौंलाई महत्त्व दिएर राखे। त्यसपछि नै म्यानमारमा बुद्धकालीन सभ्यताको संरक्षण र प्रवद्र्धनमा फड्को मारेको देखिन्छ। उक्त रौं राखेकै कारण बोथाथुंग र स्वजेगान प्यागोडा आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। बर्मामा नेपालको तिलौराकोट जस्तै खुला बुद्धकालीन बगाना संग्रहालय पनि छ।
दोस्रो विश्वयुद्धताका बेलायती उपनिवेशमा परेको बर्माको नाम परिवर्तन भएर म्यानमार भयो। विदेशीहरुले त्यहाँको अधिकांश संरचना परिवर्तन गराए तर बौद्ध संस्कार र शिक्षणलाई चाहेर पनि परिवर्तन गराउन नसकेको म्यानमारको संस्कृति तथा धार्मिक मन्त्रालयका अधिकृत आन्सु थु (दाइ) ले बताए। थेरवाद बुद्धिज्मका लागि बर्मा संसारमै उच्चतम प्रयोग भएको देश भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्नातकोत्तर तहका विद्यार्थी सिद्धिचरण भट्टराईले बताए। बर्मेली विश्वविद्यालयमा भइरहेको बुद्धिज्मसम्बन्धी शिक्षणबाट नेपालीले धेरै सिकाइ गर्न सक्ने लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी निर्मल ढुंगानाले बताए।
बर्माको सरकारले अत्यन्तै महत्त्व दिएर सरकारकै प्रत्यक्ष लगानी र संरक्षणमा थेरबाद बुद्धिज्मको शिक्षण गरिरहेको चन्द्र पाठकले बताए। उनले भने, ‘यहाँको सरकारले अर्बौं लगानी गरेर बुद्ध शिक्षणका लागि भौतिक पूर्वाधार, बुद्धिज्म पढ्ने स्वदेशी तथा विदेशी विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ। बर्मेली बुद्ध शिक्षणकलाबाट हामीले धेरै सिक्नुपर्ने देखिन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४