काठमाडौं : नेपाली कांग्रेसले अस्ट्रेलियामा अध्ययन गई बिचल्लमीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ ।
‘स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पुर्याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा विद्यार्थी समेतले मार्मिक चोट भोग्नुपरेको खबरले हामी मर्माहत भएका छौं’, प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन् ।
बिचल्लीमा परेको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको छ । हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ ।
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको जानकारी उनले दिए । ‘नेपाल सरकारले ती विद्यार्थीको उद्धार गरी शैक्षिक प्रबन्धका लागि तत्काल अस्ट्रेलिया सरकारसँग आवश्यक पहल गरोस् र पीडित विद्यार्थी एवं अभिभावकको भावनाअनुरुपको व्यवस्थापनमा तत्कालै अग्रसरता निर्वाह गरोस्’ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै कांग्रेसले दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीबारे आवश्यक विवरण संकलन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४