काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडी प्रदर्शनमा उत्रेका विवेकशील साझाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । विवेकशील साझाले ३० भन्दा बढी आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरु धर्नामा बसेका थिए । बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिन माग गर्दै बुधबार बिहान विवेकशील साझाले अख्तियार अगाडि धर्ना कार्यक्रम राखेको थियो ।
शान्तपूर्ण प्रदर्शन गर्नेलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रको उपहास गरेको भन्दै मिश्रले तत्काल नेता–कार्यकर्तालाई रिहा गर्न माग गरेका छन् । पक्राउ परेकालाई प्रहरीले महेन्द्र पुलिस क्लबमा राखेको छ ।
गिरफ्तार हुनेमा पार्टीकी प्रदेश ३ संयोजक समिक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल र काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ पनि छन्। उनीहरूलाई तुरून्तै रिहा गर्न विवेकशील साझाले माग गरेको छ ।
शान्तिपुर्ण ढङ्गबाट गरिएको प्रदर्शन समेत दबाउन खोज्नुले यो सरकार तानाशाही बन्दै गइरहेको भन्दै पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले आक्रोश पोखेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४