काठमाडौं- कोरिया सरकारले यस वर्षदेखि दक्षिण कोरिया कामदार लैजानका लागि सीप परीक्षा 'स्किल टेस्ट' समेत समावेश गर्ने तयारी गरिरहेको छ।
सन् २०१९ देखि नेपाललगायत १६ वटै कोरियाले कामदार लैजाने देशमा एकैपटक 'पोइन्ट सिस्टम' लागू गर्ने तयारी गरिरहेको श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको हो।
शाखाका प्रवक्ता शोभाकर भण्डारीले कोरिया सरकारले २०१९ देखि पोइन्ट बेसमा कोरिया लाने कामदार छनोट गर्ने तयारी गरिरहेको बताए। 'सम्भवतः यसै वर्षदेखि सो सिस्टम लागू हुन्छ,' उनले भने, 'उक्त सिस्टमअनुसार सुरुमा पहिलेको जस्तै लिखित परीक्षा हुन्छ, त्यसबाट सम्भावित कोटाभन्दा बढी संख्यामा पास गरिन्छ । त्यसपछि सीप परीक्षा हुन्छ। उक्त परीक्षा पास गर्नेहरुलाई मात्र कोरिया कामदारका लागि लैजान योग्य मानिन्छ।'
सन् २०१२ देखि २०१६ सम्मका सीप परीक्षा (स्किल टेस्ट) समावेश थियो। तर त्यसमा सहभागी नभए पनि हुन्थ्यो। उनले भने, 'तर अब लिइने सीप परीक्षा भने अनिवार्य पास गर्नुपर्ने हुन्छ।'
कारियामा गएका कामदारलाई भाषा तथा सीप दुवै क्षेत्रमा अझ दक्ष बनाउन दुवै परीक्षा गर्न लागेको जनाइएको छ।
लिखित परीक्षा (पढाइ र सुनाइ) बाट कामदारको भाषा क्षमता र सीप परीक्षाबाट कामदारको शारीरिक क्षमता परीक्षण हुनेछ । सीप परीक्षामा सम्बन्धित कामसम्बन्धी औजार प्रयोगलगायतको सीप परीक्षण गरिन्छ ।
उनले यो वर्ष कोरिया लैजाने कोटा आधिकारिक रुपमा आइनसकेको बताए। यद्यपि नेपालले १० हजारभन्दा बढी कोटा पाउने अनुमान गरिएको छ। कोरियाले आफ्नो देशमा आवश्यक पर्ने जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले रोजगारीको उक्त कोटा पाउनेछ ।
कामदार छनोटका लागि फागुनमा भाषा परीक्षाको आवेदन खुल्छ। जेठ अन्तिम वा असार सुरुमा परीक्षा हुनेछ। असोजपछि धमाधम भाषा परीक्षा उत्तीर्ण भएका व्यक्तिलाई कोरिया लैजान सुरु गरिन्छ।
भाषा पास गर्दैमा कोरियाको गन्तव्य निश्चित नहुने प्रवक्ता भण्डारीको भनाइ छ। 'कामदार छनोटको अधिकार कोरियन कामदारदाता कम्पनी हो',उनले भने।
कोरियाको श्रम बजारमा नेपाली कामदार मेहनती र इमानदार मानिन्छ । सन् २००८ देखि दक्षिण कोरियाले नेपालबाट कोरियामा अदक्ष जनशक्ति लैजान सुरु गरेको हो।
२०१८ को अन्तिमसम्ममा ५८ हजार ७०९ जना नेपाली कोरियामा कामदारका रुपमा कार्यरत रहेको इपिएस शाखाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४