धनगढी - २०४४ सालमा शिलान्यास भएको डोटीको बोकटान सडक ३१ बर्ष पछि प्रधानमन्त्रीले पुनः शिलान्यास गरेका छन्। तत्कालीन जिल्ला विकास समितिका सभापति भरत बहादुर खड्काले शिलान्यास गरेको बोगटान सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पुनः शिलान्यास गरेका हुन्।
धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमा प्रम ओली कैलाली र डोटी जोड्ने सहजपुर-बोगटान सडक शिलान्यास गर्न डोटीको विपिनगर पुगेका थिए। सडक शिलान्यास कार्यक्रममा बोल्दै ओलीले सडक कालोपत्रे बने पछि आवतजावतमा सहज हुनुका साथै गाउँमा हुने उत्पादनले बजार पाउने विश्वास व्यक्त गरे। लोकतान्त्रीक गणतन्त्रमा दुई तिहाईको सरकार भएकाले जनताका आवश्यकताहरु पुरा हुने विश्वास दिलाउँदै आलीले कोही पनि जनता आधारभुत आवश्यकताका लागि निरास हुन नपर्ने बताए।
‘जनताले निराश हुने र हतार गर्ने काम छैन सरकार गाउँगाउँमा सडक, बिजुलीबत्ती पुलपुलेसा निर्माण गर्न सरकार लागि परेको छ’ प्रधानमन्त्री ओलीले भने। यस्तै ओलीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सब-स्टेसनको उद्घाटन गरेका छन्।
अमरगढी-१ दुधकाँडेमा नेपाल सरकारको लगानीमा निर्माण भएको १३२ र ३३ केभी सवस्टेशनको उद्घाटन गरेका हुन् । सब स्टेसन संचालनमा आएसंगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतत यहीं मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार पनि तयार भएको छ। यसले त्यस क्षेत्रको विद्युत विकासका लागि सहज वातावरणको निर्माण हुनेछ। प्रधानमन्त्री ओलीले सबस्टेसनको निर्माणपछि सुदूरपश्चिमको विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउने अत्यन्त महत्वपूर्ण भूमिका खेलेको बताए।
कैलालीको सहजपुर देखि डोटीको बोकटान सम्मको करिव ५० किलोमिटर सडक कालोपत्रे हुने जनाईएको छ। नेपालको पूर्वाधार बिकासका लागि भारत सरकारले एक्जीम बैंकमार्फत पाँच सय ५० मिलियन डलर ऋण सहयोग गर्ने भनि २०७१ मंसिर ९ गते सम्झौता भएको थियो । सोहि रकमबाट निर्माण हुने नेपालका १७ वटा सडक मध्ये डोटीको बोगटान सडकमा दुई अर्ब रकम खर्च गर्ने सडक सुधार तथा विकास आयोजना निर्देशनालयले जनाएको छ। सोहि बजेट अर्न्तगत सडक कालोपत्रे हुन लागेको हो।
बोगटान सडकको नालीबेली
३१ बर्ष पहिले नै शिलान्यास भएर पनि सरकारी वेवास्तामा परेको सहजपुर-बोगटान सडक खण्डले पछिल्लो समय प्राथमिकता पाइरहेको छ । यो सडकमा कांग्रेस र नेकपाका नेताहरुबीच आफुहरुले काम गरेको देखाउने होडबाजी नै चलेको छ। डोटीबाट प्रतिनिधी सभामा निर्वाचित प्रेम बहादुर आलेमगर लामो समयदेखि अलपत्र रहेको बोगटान सडकमा आफ्नो पहलबाट कालोपत्रेको काम सुरु भइरहेको दाबी गर्दै आइरहेका छन् ।
कांग्रेसका प्रदेश सांसद एवम् बोगटान सडकको शिलान्यास गर्ने ०४४ सालका तत्कालिन जिल्ला सभापति भरत बहादुर खड्का सो सडकको पुनः शिलान्यास गर्नु राजनीतिक ईच्छाशक्ति मात्र भएको आरोप लगाउछन्।
‘०४४ सालमा सहजपुरदेखि बिपिनगर सम्मको १८ किलोमिटर ट्रयाक खोल्न बजेट बिनियोजन गरि आफैंले शिलान्यास गरेको हु’, खड्काले भने,‘पुन: शिलान्यास गर्नु जरुरी नै छैन।’ उनले एक पटक शिलान्यास भइसकेपछि काम सम्पन्न गरेर उद्घाटन गर्नुको सट्टा पुनः शिलान्यास गर्नुको औचित्य नभएको बताए।
डोटीबाट ०७० सालमा निर्वाचित सभासद् एवम् पूर्व भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री बीर बहादुर बलायरले आलेले गरेको दाबी भ्रमपूर्ण रहेको बताउँछन्। उनले ०७१ साल मंसिरमा नेपाल र भारत सरकारबीचको सम्झौता अनुसार एक्जीम बैंकमार्फत आएको सहयोग रकममध्य दुई अर्व बजेट बोगटान सडकमा हालिएको दाबी गरे।
‘गफ गरेर हुन्न, प्रमाणका साथ कुरा गर्नु पर्छ। ०७१ मा शुशिल कोइराला प्रधानमन्त्री हुँदा भारत सरकारसंगको सम्झौता अनुरुप एक्जीम बैंक मार्फत सहयोग आउने प्रतिबद्धता भएको हो’, पूर्वमन्त्री बलायरले भने,‘आर्थिक बर्ष ०७२-०७३ मा तत्कालिन अर्थमन्त्री डा रामशरण महतले आफ्नो बजेट वक्तव्यमा बोगटान सडकका लागि बजेट विनियोजन गर्नुभयो। ०७४ असोजमा म आफैं मन्त्री हुँदा एक्जीम बैंकबाटै आएको रकम मध्य दुई अर्ब हालेर कालोपत्रेका लागि टेण्डर निकालेको हुँ।’
बलायरले सोही टेण्डरको कार्यान्वयन स्वरुप काम अघि बढ्दा आफूले काम गरेको भ्रम छर्न प्रधानमन्त्रीलाई बोकेर लगेको आरोप लगाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४