काठमाडौं- विश्वकै ठूलो भिडियो प्रसारण मञ्च युट्युबले भिडियो हेर्ने अनुभवलाई सहज बनाउन नयाँ एभी२ प्रविधि ल्याउने तयारी गरेको छ।
युट्युबले सन् २०२७ को सुरुवातदेखि आफ्नो मञ्चमा एभी२ भिडियो कोडेकमार्फत भिडियो प्रसारण सुरु गर्न सक्ने दाबि गरिएको छ। यस प्रविधिले कम डाटा खर्च गरेर पनि उच्च गुणस्तरका भिडियो सहज रूपमा हेर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
एभी२ (एओमिडिया भिडियो २) नयाँ पुस्ताको भिडियो सङ्कुचन प्रविधि हो। यसले भिडियोको गुणस्तर कायम राख्दै फाइलको आकार घटाउन सहयोग गर्छ। यो युट्युबमा अहिले प्रयोग भइरहेको एभी१ प्रविधिभन्दा करिब ३० प्रतिशत बढी प्रभावकारी रहेको बताइएको छ। यसले गर्दा इन्टरनेटको गति कम हुँदा पनि भिडियो रोकिने वा पटकपटक लोड हुने समस्या घट्न सक्छ।
युट्युबका प्रमुख प्राविधिक अधिकृत डेस किनले एओमिडियाको घोषणाका क्रममा यसबारे जानकारी दिएका थिए। सन् २०२६ को जुनमा सार्वजनिक गरिएको एभी२ प्रविधिले उच्च गतिशील दायरा, बढी फ्रेम दर, एकैसाथ धेरै भिडियो प्रवाह र विभिन्न क्यामेरा कोणबाट खिचिएका दृश्यजस्ता सुविधालाई समर्थन गर्छ। उपलब्ध विवरणअनुसार, सन् २०२६ को मार्चसम्म युट्युबमा हेरिएको कुल भिडियो समयको ९० प्रतिशतभन्दा बढी हिस्सा एभी१ प्रविधिमा आधारित थियो।
युट्युबले सन् २०२७ को सुरुवातमा एभी२ प्रविधि लागू गर्ने लक्ष्य हाललाई कम्प्युटर तथा ल्यापटपमा चल्ने वेब संस्करणका लागि राखेको छ। मोबाइल अनुप्रयोग र स्मार्ट टेलिभिजनमा यो सुविधा कहिलेदेखि उपलब्ध हुन्छ भन्नेबारे भने आधिकारिक समयसीमा सार्वजनिक गरिएको छैन।
नयाँ प्रविधि लागू गर्न हार्डवेयरको क्षमतासम्बन्धी चुनौती पनि देखिएको बताइएको छ। गुगलले सन् २०२६ को उपभोक्ता प्रविधि प्रदर्शनीमा क्रोम ब्राउजरमार्फत एभी२ भिडियो चलाएर देखाएको भए पनि यसको स्थिर संस्करण सार्वजनिक भइसकेको छैन। हाल बजारमा उपलब्ध उपभोक्ता ग्राफिक्स कार्ड र स्मार्ट टेलिभिजनमा हार्डवेयरकै तहमा एभी२ भिडियो खोल्ने सुविधा नभएको स्रोतमा उल्लेख छ।
सुरुवाती चरणमा भिडियो प्रशोधनको भार कम्प्युटरको मुख्य प्रोसेसरमा पर्ने भएकाले यसको प्रयोग चुनौतीपूर्ण हुन सक्छ। भिडियो प्लेयर विकासकर्ता कम्पनी भिडियोलेनको अनुमानअनुसार, एभी२ भिडियो प्रशोधन गर्न एभी१ को तुलनामा प्रोसेसरले पाँच गुणासम्म बढी काम गर्नुपर्ने हुन सक्छ।
भिडियो प्रसारण प्रविधिको विकासमा युट्युबसँगै इन्टेल र मेटा पनि संलग्न छन्। इन्टेलले एभी२ को सफ्टवेयर संस्करण एसभीटी–एभी२ को विकासमा सहयोग गरिरहेको छ। फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने मेटाले पनि आफ्ना मञ्चमा भिडियो हेर्ने अनुभव सुधार गर्न एभी२ प्रविधि अपनाउने घोषणा गरेको बताइएको छ।