आइतबार, भदौ २८, २०८३

के एआई नियन्त्रणबाहिर गएर मानव अस्तित्वकै अन्त्य गर्न सक्छ ?

 |  आइतबार, भदौ २८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०८३

काठमाडौं- कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै यसले भविष्यमा मानव अस्तित्वमै खतरा पुर्‍याउन सक्ने हो कि भन्ने चिन्ता पनि बढ्दै गएको छ। यही विषयमा बिजनेस इन्साइडरले लोकप्रिय चार कृत्रिम बुद्धिमत्ता प्रणाली, च्याटजिपिटी, जेमिनी, क्लाउड र ग्रोकलाई एउटै प्रश्न सोधेको थियो, कृत्रिम बुद्धिमत्ता कसरी मानव जातिको अन्त्यको कारण बन्न सक्छ ?

चारै प्रणालीले हलिउड चलचित्रमा देखाइने ‘टर्मिनेटर’ जस्ता हत्यारा यन्त्रले मानिसमाथि आक्रमण गर्ने अवधारणालाई अस्वीकार गरेका छन्। उनीहरूका अनुसार कृत्रिम बुद्धिमत्ताले मानिसप्रति स्वाभाविक रूपमा शत्रुता राख्ने भन्ने हुँदैन। तर मानिसले यसको खतरनाक दुरुपयोग गरेमा वा अत्यधिक शक्तिशाली कृत्रिम बुद्धिमत्ता मानव नियन्त्रणबाट बाहिर गएमा गम्भीर विपत्ति निम्तिन सक्ने चेतावनी दिइएको छ।

जेमिनीले कृत्रिम बुद्धिमत्ता बढी बुद्धिमान हुँदैमा त्यसमा मानिसप्रति घृणा वा दुर्भावना उत्पन्न हुन्छ भन्ने आवश्यक नभएको जनाएको छ। सैन्य तथा आणविक संरचनाहरूमा मानवीय निगरानी रहने भएकाले कृत्रिम बुद्धिमत्ताले आफैं त्यस्ता प्रणालीमाथि प्रत्यक्ष नियन्त्रण लिन सक्ने सम्भावना सीमित रहेको पनि उल्लेख गरिएको छ।

क्लाउड र ग्रोकले भने कृत्रिम बुद्धिमत्ताको दुरुपयोगबाट जैविक हतियार निर्माणमा सहयोग पुग्न सक्ने जोखिम औँल्याएका छन्। गैरजिम्मेवार व्यक्ति वा समूहले यसको दुरुपयोग गरेमा घातक भाइरस फैलाएर ठूलो स्वास्थ्य संकट निम्त्याउन सक्ने उनीहरूको चेतावनी छ।

च्याटजिपिटीले भने कृत्रिम बुद्धिमत्तामार्फत व्यापक विद्युतीय तथा सञ्चार प्रणालीमाथि साइबर आक्रमण हुन सक्ने जोखिम औँल्याएको छ। त्यस्तो आक्रमणले विद्युत् आपूर्ति, बैंकिङ प्रणाली र सञ्चार सञ्जालमा ठूलो अवरोध सिर्जना गरी विश्वव्यापी संकट निम्त्याउन सक्ने बताइएको छ।

समग्रमा, चारै कृत्रिम बुद्धिमत्ता प्रणालीको निष्कर्षमा मुख्य जोखिम कृत्रिम बुद्धिमत्ताको आफ्नै इच्छाभन्दा पनि यसको मानवीय दुरुपयोग र नियन्त्रण गुम्ने अवस्थासँग जोडिएको छ। मानिसभन्दा बढी सक्षम प्रणाली निर्माण गरेर त्यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकिएमा वा गलत निर्देशन पालना गर्ने अवस्था सिर्जना भएमा मानव सभ्यतामाथि गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ।

प्रकाशित: Sep 13, 2026| 06:58 आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्